नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायतका विभिन्न कम्युनिस्ट समूहहरूसँग पार्टी एकता गर्ने निर्णय गरेसँगै दुवै दलभित्र असन्तुष्टि चर्किएको छ । नेकपा एसले माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णय गरेलगत्तै माओवादी केन्द्रको केन्द्रीय सचिवालयले पनि शनिबार नेकपा एस, नेकपा समाजवादी, जनसमाजवादी , नेपाल समाजवादी पार्टी र नेकपा (चिरन पुन) सँग एकता गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको यो एकता निर्णयविरुद्ध उपमहासचिव जनार्दन शर्माले फरक मत राख्दै बृहत् वाम एकता नगरी टुक्रे एकतामा जान नहुने अडान लिएका छन् । उनले हालको एकता राजनीतिक र वैचारिक धरातल छाडेर भएको, पार्टीको सुदृढीकरण र आन्दोलनको भावनाविपरीत भएको तथा माओवादीको पहिचान छाडेर हुन लागेको भन्दै आफू यस एकतामा सहभागी नहुने घोषणा गरेका छन् ।
शर्माले यो एकता महाधिवेशन छल्ने, वैचारिक बहसलाई रोक्ने र नयाँ पुस्ताको नेतृत्व निर्वाचित हुन नदिनका लागि गरिएको प्रयास भएको आरोप लगाएका छन् । उनले माओवादको विचार छोडेर बहुदलीय जनवादका आधारभूत कुरामा आत्मसमर्पण गर्न नसकिने र जेनजी आन्दोलनले उठाएको सुशासन तथा भ्रष्टाचार अन्त्यको संवेदनशीलतालाई यो एकताले नबुझेको तर्क गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने सचिवालय बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका शर्माको शैली राम्रो नभएको र त्यो ‘अराजकता’ भएको आरोप लगाएका छन् । दाहालले केन्द्रीय समिति बैठकसम्म शर्मा पनि एक हुने विश्वास व्यक्त गर्दै पार्टी एकजुट रहेको दाबी गरेका छन्।
यता, नेकपा एकीकृत समाजवादी पनि विभाजनको संघारमा पुगेको छ । माओवादी केन्द्रसँग एकता गर्ने नीतिगत निर्णयप्रति असहमति जनाउँदै वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूले शनिबार छुट्टै भेला गरेका छन् ।
महासचिव भुसालको संयोजकत्वमा ‘नेकपा एकीकृत समाजवादी (भुसाल) समूह’ गठन गर्ने तयारी भएको बताइएको छ । यो समूहले पार्टी पुनर्गठनको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै अन्य वामपन्थी दलभित्र पनि पुनर्गठनका लागि आह्वान गर्ने निर्णय गरेको छ । भुसाल समूहले ४५५ केन्द्रीय सदस्यमध्ये १५८ जना पुनर्गठनको पक्षमा रहेको दाबी गरेको छ ।
माओवादीसँगको एकतामा असहमत रहेका नेकपा एसका नेताहरूले नेकपा एमालेसँग संवाद सुरु गरिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नै असन्तुष्ट नेताहरूलाई ‘घर फर्कन’ आह्वान गरेका थिए । एमालेका नेताहरू खनाल, भुसाल र नेतृ रामकुमारी झाँक्री लगायतसँग अनौपचारिक संवादमा रहेको र अध्यक्ष नेपाल पक्ष माओवादीतिर गए असहमत पक्ष एमालेतिर आउनेबारे छलफल भइरहेको बताइएको छ ।
वरिष्ठ नेता खनालले भने एमालेमा फर्कनका लागि जनताको बहुदलीय जनवाद छाडेर नेपाली विशेषताको समाजवाद हुनुपर्ने, सम्मानित पद पाउनुपर्ने लगायतका सर्तहरू अघि सारेको बताइएको छ । तर, एमालेभित्र खनाल र भुसाललाई भित्र्याउनेबारे अध्यक्ष ओली सकारात्मक नरहेको बताइएको छ ।
महासचिव भुसाल भने वाम ध्रुवीकरणका लागि कतै नगई युवाको नेतृत्वमा छुट्टै ध्रुवीकरण गर्ने पक्षमा देखिएका छन् । उनले पहिलो पुस्ताबाट हुने वाम एकताले व्यक्तिगत स्वार्थ मात्र पूरा गर्ने र मुलुकमा आशा जगाउन नसक्ने बुझाइ व्यक्त गरेका छन् ।








