नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गर्दै आफ्नो अडान दोहोर्याएका छन् ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले मुलुकको पछिल्लो संवेदनशील अवस्थालाई सम्बोधन गर्न विशेष महाधिवेशन अनिवार्य रहेको तर्क गरे ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशन आवश्यक पर्दैन भन्नु विधानको अपव्याख्या भएको टिप्पणी गरे । थापाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने अधिकार विधानले सुनिश्चित गरेको भन्दै त्यसलाई कुण्ठित गर्न नहुनेमा जोड दिए ।
महामन्त्री थापाले भदौ २३ र २४ गते युवा तथा नागरिकहरूले सडकमा पोखेको असन्तुष्टि र विद्रोहलाई कांग्रेसले गम्भीरतापूर्वक सुन्नुपर्ने बताए । उनले ‘जेन-जी’ पुस्ताको आवाजलाई सम्बोधन गर्न, पार्टीको नीति र नेता दुवै फेर्नका लागि विशेष महाधिवेशनको बाटो रोजिएको प्रस्ट पारे ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ल्याएको विशेष महाधिवेशन रोक्ने प्रस्ताव विधानविपरीत भएको दाबी गर्दै उनले गोदावरी महासमिति बैठकमै आफूले २०८२ सालमा नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गर्दा अस्वीकार गरिएको स्मरण गराए । नियमित महाधिवेशन मंसिरभित्रै गर्न नसकिने अवस्थामा पुरानै प्रतिनिधिहरूबाट विशेष महाधिवेशन गरी नयाँ राष्ट्रिय संकल्पका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
विशेष महाधिवेशनको माग गर्दा पार्टी विभाजन हुन्छ भन्नु केवल ‘हौवा’ मात्र भएको टिप्पणी गर्दै थापाले विधानको कार्यान्वयनले पार्टीलाई मजबुत बनाउने दाबी गरे । देशभरका कार्यकर्ता र प्रतिनिधिहरूको विश्वास टुट्नु नै वास्तविक विभाजन भएको भन्दै उनले संवाद र छलफलबाटै समस्याको समाधान खोजिनुपर्ने बताए ।
आगामी निर्वाचनमा जानुअघि पार्टीको नीति र नेतृत्वमा नयाँपन आउनु अनिवार्य रहेको उल्लेख गर्दै उनले कार्यकर्ताको भावनालाई बेवास्ता गरे पार्टीलाई थप क्षति पुग्ने चेतावनी समेत दिए ।









