बुल्गेरिया र क्रोएसियामा श्रम भिसामा रोजगारी दिलाइदिने प्रलोभन देखाएर कोज्मो एजुकेशनल कन्सल्टेन्सीले झन्डै तीन सय जनाबाट करोडौँ रुपैयाँ ठगी गरेको खुलासा भएको छ । पीडितका अनुसार प्रतिव्यक्ति औसत साढे दुई लाख रुपैयाँ उठाएर करिब ७ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी गरिएको छ ।
पीडितहरूका अनुसार कन्सल्टेन्सीले यात्रुहरूलाई काठमाडौँ, नारायणगढ, भैरहवा र नवलपरासी जस्ता स्थानमा बस पर्खन लगाएको थियो । शनिबार बेलुकासम्म कन्सल्टेन्सीका सञ्चालक सर्लाहीका ५५ वर्षीय लालबाबु राम, म्यानेजर टीकापुरकी २१ वर्षीया हिमा नायक र कर्मचारी इलामकी २२ वर्षीया आस्था खड्कासँग नियमित सम्पर्कमा रहे पनि आइतबार बिहानदेखि तीनै जनाको मोबाइल बन्द भयो । लालबाबु रामले ह्वाट्सएपबाट आफ्नो नम्बरसमेत हटाएका थिए ।
असारदेखि सुरु भएको ठगी
पीडितहरूका अनुसार ठगीको श्रृंखला गत असारदेखि सुरु भएको हो। कोज्मोले सामाजिक सञ्जालमार्फत सस्तो लागतमा बुल्गेरियामा ८५ जना र क्रोएसियामा ८५ जनालाई प्याकिङ र ड्राइभरको काममा लैजाने विज्ञापन गरेको थियो। ७ देखि १० लाख रुपैयाँ लागतमा ८ सय ५० युरोदेखि १२ सय युरोसम्म तलब पाइने अफर दिइएको थियो।
कार्यालयमा भेटिने म्यानेजर हिमा र कर्मचारी आस्थाले सञ्चालक लालबाबु राम ग्रिसमा बसेर युरोपेली कम्पनीहरूसँग सिधै सम्पर्क गर्ने र वर्क परमिट बनाउने दाबी गर्दै आएका थिए। थप जानकारीका लागि उनीहरूले लालबाबुको ग्रिसको ह्वाट्सएप नम्बर उपलब्ध गराउँथे ।
कागज छ, तर प्रमाणीकरण छैन
पीडितहरूलाई चार महिनापछि वर्क परमिट आएको भन्दै कागज दिइएको थियो र दुई दिनभित्र थप दुई लाख रुपैयाँ बुझाउन दबाब दिइएको थियो । नुवाकोटका २४ वर्षीय सुरज लामाका अनुसार वर्क परमिट अंग्रेजीमा नभई अन्य भाषामा थियो, जसलाई गुगल ट्रान्सलेसनमार्फत बुझ्नुपरेको थियो। सबै रकम कोज्मो कन्सल्टेन्सी र सञ्चालक लालबाबु रामको बैंक खातामा जम्मा गरिएको पीडितहरूले बताएका छन् ।
पीडितहरूको दाबी अनुसार कोज्मोले कतिपय व्यक्तिबाट ७ लाख रुपैयाँसम्म असुलेको छ र कुल ठगी रकम १५ करोड रुपैयाँ नाघ्न सक्ने अनुमान गरिएको छ ।
कर्मचारी नियन्त्रणमा, सञ्चालक फरार
वैदेशिक रोजगार विभागले बिहीबारदेखि पीडितहरूको उजुरी लिन थालेको छ । कन्सल्टेन्सीकी म्यानेजर हिमा नायक र कर्मचारी आस्था खड्का प्रहरी नियन्त्रणमा छन् भने मुख्य सञ्चालक लालबाबु राम फरार छन् ।
प्रहरीसमक्ष हिमा र आस्थाले आफूहरूलाई पनि सञ्चालक लालबाबुले फसाएको बयान दिएका छन् । पीडितहरूले १०–१५ जनाको समूह बनाएर वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराइरहेका छन् ।
वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले प्रारम्भिक रूपमा करिब तीन सय जना ठगिएको जानकारी आएको बताउँदै अनुसन्धान अधिकृत तोकिएको जानकारी दिइन् ।








