२६ माघ २०८२, आइतबार | Mon Feb 9 2026

एपस्टिन फाइलको बाछिटा नर्वेमा, राजपरिवारमा सङ्कट



नर्वेको राजपरिवार यतिबेला एकसाथ कयौँ गम्भीर विवादहरूको सामना गरिरहेको छ, जसका कारण भविष्यको रानीका रूपमा युवराज्ञी मेत्ते-मारितको उपयुक्ततामाथि नै प्रश्न उठ्न थालेको छ ।

यो साता युवराज्ञीका २९ वर्षीय छोरा मारियस बोर्ग होइबीविरुद्ध ओस्लोको एक अदालतमा बलात्कारका चारवटा मुद्दामा सुनुवाइ सुरु भएको छ । युवराज हाकनकी सौतेनी सन्तान रहेका होइबीले अदालतमा बयान दिने क्रममा आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै आँसु झारेका थिए । युवराज हाकनले यसअघि नै एक विज्ञप्ति जारी गर्दै होइबी राजपरिवारको सदस्य नभएको र उनी एक स्वायत्त नागरिक रहेको स्पष्ट पारिसकेका छन् ।

छोराको कानुनी झमेलाले राजसंस्थाको छविमा धक्का पुगिरहेका बेला अमेरिकी न्याय विभागले सार्वजनिक गरेको ‘जेफ्री एपस्टिन फाइल’ ले युवराज्ञी मेत्ते-मारितलाई थप विवादमा पारेको छ । उक्त फाइलहरूमा युवराज्ञी र यौन अपराधी एपस्टिनबीच सन् २०१२ ताका भएका विस्तृत इमेल संवादहरू बाहिरिएका छन् । ती इमेलहरूमा युवराज्ञीले एपस्टिनलाई ‘स्वीटहार्ट’ र ‘कोमल मनको’ भन्दै सम्बोधन गरेको पाइएको छ ।

यस विषयमा युवराज्ञीले सार्वजनिक रूपमा माफी माग्दै आफूले एपस्टिनको पृष्ठभूमि बुझ्न नसक्नुमा “कमजोर निर्णय क्षमता” ले काम गरेको स्वीकार गरेकी छिन् । उनले एपस्टिनको अपराधको कडा निन्दा गर्दै यसबाट राजपरिवार र राजा–रानीलाई पर्न गएको असरप्रति खेद व्यक्त गरेकी छिन् ।

यो विवादका कारण नर्वेमा युवराज्ञीप्रतिको जनविश्वास निकै घटेको छ भने विभिन्न सामाजिक संस्थाहरूले उनीसँगको सम्बन्ध तोड्न थालेका छन् । ओस्लोस्थित यौन स्वास्थ्य केन्द्र ‘सेक्स एण्ड सोसाइटी’ ले युवराज्ञीसँगको सहकार्य अन्त्य गर्ने घोषणा गरेको छ भने अन्य तीन सांस्कृतिक संस्थाहरूले उनी र एपस्टिनबीचको सम्बन्धलाई ‘गम्भीर र चिन्ताजनक’ भन्दै स्पष्टीकरण माग गरेका छन् । नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरले समेत युवराज्ञीले कमजोर निर्णय क्षमता प्रदर्शन गरेको भन्दै सार्वजनिक रूपमा आलोचना गर्नुभएको छ, जसलाई नर्वेको आधुनिक इतिहासमा एक दुर्लभ राजनीतिक हस्तक्षेप मानिएको छ ।

राजपरिवारका लागि अर्को टाउको दुखाइको विषय पूर्व प्रधानमन्त्री थोर्बजोर्न जाग्ल्याण्डमाथि सुरु भएको अनुसन्धान बनेको छ । उनीमाथि पनि एपस्टिनसँगको सम्बन्धलाई लिएर “गम्भीर भ्रष्टाचार” गरेको आशंकामा प्रहरीले छानबिन गरिरहेको छ । ८८ वर्षीय राजा ह्याराल्ड पञ्चमको खस्कँदो स्वास्थ्य र युवराज्ञी मेत्ते-मारित स्वयं फोक्सोको जटिल रोगबाट ग्रसित भइरहेको अवस्थामा आएका यी शृङ्खलाबद्ध विवादले नर्वेको राजतन्त्रको भविष्यमाथि नै अनिश्चितता थपेको छ । विज्ञहरूका अनुसार युवराज्ञीको छविका कारण अब आगामी दिनमा उनले आफ्नो शाही जिम्मेवारी त्याग्नुपर्ने वा युवराज हाकनले मात्रै शासन सम्हाल्नुपर्ने सम्मको विकल्पमा बहस हुन थालेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, आइतबार  ८ : ४१ बजे