क्यानडाको ब्रिटिस कोलम्बिया राज्यस्थित एउटा माध्यमिक विद्यालयमा मंगलबार अपराह्न भएको भीषण गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ।
उत्तरी ब्रिटिस कोलम्बियाको दुर्गम नगरपालिका टम्बलर रिजमा रहेको विद्यालयभित्र एक महिलाले अन्धाधुन्ध गोली चलाउँदा यो बीभत्स घटना भएको हो। रोयटर्सका अनुसार घटनास्थलमा ६ जनाको शव विद्यालयभित्रै भेटिएको थियो भने एक जनाको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। यसैगरी, विद्यालय नजिकैको अर्को एक भवनमा दुई जना मृत भेटिएका छन्, जो सोही गोलीकाण्डकै शिकार भएको प्रहरीले पुष्टि गरेको छ।
प्रत्यक्षदर्शीका अनुसार खैरो कपाल भएकी र खैरो नै पहिरन लगाएकी एक महिलाले एक्कासी आक्रमण सुरु गरेकी थिइन्। आक्रमणकारी महिला पनि घटनास्थलमै मृत फेला परेकी छिन्। प्रहरीका अनुसार ती महिलाले सर्वसाधारणमाथि गोली चलाएपछि आफैँलाई गोली हानेर आत्महत्या गरेकी हुन्। प्रहरीले ती महिलाको पहिचान भइसकेको बताए पनि नाम भने अझै सार्वजनिक गरेको छैन। यो हिंसात्मक घटनामा कम्तीमा २५ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था अत्यन्तै गम्भीर रहेको जनाइएको छ।
रकी पर्वत शृंखलाको फेदीमा अवस्थित हिउँ परिरहेको दुर्गम क्षेत्रमा भएको यस घटनाले क्यानडाभर स्तब्धता फैलाएको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रहरीले आक्रमणको उद्देश्यबारे अनुसन्धान गरिरहेको बताएको छ। क्यानडामा यसअघि पनि यस्ता ठूला गोलीकाण्ड भएका थिए। सन् २०२० मा नोभा स्कोटियामा भएको आक्रमणमा २२ जना र सन् १९८९ मा मोन्ट्रियलको विद्यालयमा भएको गोलीकाण्डमा १४ जना महिला विद्यार्थीको ज्यान गएको थियो।









