महँगी, जनसेवामा भएको कटौती र शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने लगायतका माग राख्दै फ्रान्ससहित युरोपका विभिन्न देशहरूमा विशाल सरकारविरोधी प्रदर्शन चर्किएको छ । फ्रान्समा मात्रै ४ लाखभन्दा बढी मानिसहरू सडकमा उत्रिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
फ्रान्सेली गृह मन्त्रालयका अनुसार देशभर करिब ४ लाख १० हजार मानिसले प्रदर्शनमा भाग लिएका छन्, जसमध्ये १ लाख १० हजारभन्दा बढी प्रदर्शनकारी राजधानी पेरिसमा मात्रै उत्रिएका थिए । पेरिसमा सुरूमा शान्तिपूर्ण रहेको र्यालीको अन्त्यतिर युवाहरूको समूह र प्रहरीबीच भिडन्त सुरु भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले पेरिस, लिल, लियोन, मार्सेली र बोर्डोलगायतका प्रमुख सहरहरूमा अश्रुग्यास र वाटर क्यानन (पानीको फोहरा) प्रयोग गरेको छ ।
गृह मन्त्री लरेन्ट न्युनेजका अनुसार देशभर प्रदर्शनका क्रममा हुलदङ्गा र तोडफोडमा संलग्न कम्तीमा १३५ जनालाई नियन्त्रणमा लिइएको छ। स्थिति थप बिग्रन नदिन फ्रान्सभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने निस (Nice) सहरमा आफ्नो इतिहासकै सबैभन्दा ठूलो संख्यामा प्रहरी टोली तैनाथ गरिएको छ ।
वामपन्थी दल ‘फ्रान्स इन्सभ्मिस’का नेता जाँ-लुक्स मेलेन्चोनले पेरिसको प्रदर्शनलाई सामाजिक आन्दोलनको ठूलो जित भन्दै राष्ट्रपति इम्यानुएल म्याक्रोन र प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई नागरिकका माग सम्बोधन गर्न दबाब दिएका छन् ।
अन्य युरोपेली देशहरूमा पनि प्रदर्शनको राप
फ्रान्सको यो आन्दोलनको असर छिमेकी युरोपेली मुलुकहरूमा पनि देखिएको छ।
इटलीको राजधानी रोम, मिलान, नेपल्स र फ्लोरेन्समा जीवनयापनको बढ्दो लागत र मध्यपूर्व युद्धको विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । सम्भावित तोडफोड र हिंसालाई ध्यानमा राख्दै मुख्य सहरका महँगा पसलका सिसाहरू प्लाइवुडले ढाकिएका छन् भने सयौँ प्रदर्शनकारीलाई प्रहरीले खानतलासी गरी नियन्त्रणमा लिएको छ।
त्यसैगरी अल्बानियाको राजधानी तिरानामा प्रदर्शनकारीहरूले सरकारी भवनअघि आगो बालेर ढुङ्गामुढा गरेपछि प्रहरीले वाटर क्यानन प्रयोग गरेको छ । त्यस्तै बेल्जियमको ब्रसेल्समा विद्यार्थीहरूले सडकमा बार लगाएर प्रदर्शन गरेपछि प्रहरीले मरिचको धूलो (पेपर स्प्रे), अश्रुग्यास र वाटर क्यानन प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।









