राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबार सचिवालय बैठक बोलाएका छन् ।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ३:३० बजे बस्ने बैठकका लागि ६ वटा मुख्य एजेन्डा तय गरिएको पार्टीले जनाएको छ ।
बैठकमा पहिलो एजेन्डाका रूपमा आगामी जिल्ला अधिवेशनको कार्यविधि, २०८३ माथि छलफल हुने छ । पार्टीले देशभर संगठन विस्तारसँगै जिल्ला अधिवेशनको तयारी अघि बढाइरहेको छ ।
दोस्रो एजेन्डामा बैंक खाता सञ्चालनसम्बन्धी विषय समावेश गरिएको छ भने तेस्रो एजेन्डामा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयनबारे निर्णय गरिने जनाइएको छ ।
त्यसैगरी, चौथो एजेन्डामा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनको विषय रहेको छ । रास्वपाले यसअघि गर्ने भनिएको महाधिवेशन प्रतिनिधि सभा निर्वाचनका कारण स्थगित भएको थियो ।
पाँचौँ एजेन्डामा विभिन्न क्षेत्रका विज्ञहरूलाई आह्वान गरी उनीहरूबाट योजनाहरू संकलन गर्ने विषय रहेको छ । पार्टीले विज्ञहरूको सुझावका आधारमा नीतिगत तथा विकाससम्बन्धी योजनाहरू कार्यान्वयन गर्ने रणनीति अघि सारेको छ ।
छैटौँ एजेन्डा ‘विविध’ अन्तर्गत प्रतिनिधि सभाका सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समितिको बैठक, संसदीय दलका लागि प्राविधिक सहयोग तथा लेबी व्यवस्थापनजस्ता विषयमा छलफल हुने जनाइएको छ ।
रास्वपाले संगठन सुदृढीकरण, नीति निर्माण र आन्तरिक व्यवस्थापनलाई एकसाथ अघि बढाउने उद्देश्यसहित बैठक बोलाएको बताइएको छ ।









