कामी रिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको विश्व कीर्तिमानलाई फेरि सुधार गरेका छन् ।
सेभेन समिट ट्रेक्सका अनुसार कामी रिताले आइतबार बिहान १०:१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको ३२औँ सफल आरोहण गरेका हुन् । यससँगै उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई नयाँ उचाइमा पुर्याएका छन् ।
त्यसैगरी ल्हाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीतर्फ सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने विश्व कीर्तिमान कायम गरेकी छन् । उनले आइतबार बिहान ९ः३० बजे शिखरमा पुगेर आफ्नो नाममा नयाँ कीर्तिमान लेखाएकी हुन् ।
कामी रिता विगत दुई दशकभन्दा बढी समयदेखि व्यावसायिक पर्वतारोहणमा सक्रिय छन्। उनले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय आरोही टोलीलाई सुरक्षित रूपमा सगरमाथाको शिखरसम्म पुर्याउँदै आएका छन् । उनको अनुभव, सहनशीलता र नेतृत्व क्षमताले उनलाई विश्व पर्वतारोहण समुदायमा विशेष पहिचान दिलाएको छ ।
अमेरिकामा बसोबास गर्दै आएकी ल्हाक्पा शेर्पा ‘माउन्टेन क्विन’का रूपमा परिचित छन्। उनले आफ्नो साहस र निरन्तरताबाट महिला पर्वतारोहण क्षेत्रमा नयाँ प्रेरणा स्थापित गरेकी छन् ।
यी दुई कीर्तिमानी उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थप्नुका साथै शेर्पा समुदायको साहस, सीप र समर्पणलाई विश्वमञ्चमा पुनः स्थापित गरेको छ ।









