१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

साउदी अरबको नियोम परियोजना सुस्त, हजारौं नेपाली श्रमिक घर फर्किन थाले



साउदी अरबमा निर्माणाधीन महत्वाकांक्षी ‘नियोम’ परियोजनाअन्तर्गतका केही ठेक्का बन्द भएपछि हजारौं नेपाली श्रमिक रोजगारी गुमाएर स्वदेश फर्किन थालेका छन् । परियोजनामा कार्यरत करिब ८० हजार नेपालीमध्ये ठूलो संख्या प्रभावित हुने अनुमान गरिएको छ ।

ट्रजेना स्की भिलेजमा मात्रै करिब तीन हजार नेपाली कार्यरत रहेको बताइएको छ । फर्केकाहरुका अनुसार अधिकांश श्रमिकलाई कम्पनीले स्वदेश फर्काइसकेको छ भने केहीलाई अन्य परियोजनामा सारिएको छ ।

नियोम परियोजना साउदी युवराज मोहम्मद बिन सलमानले सन् २०१७ मा ‘साउदी भिजन–२०३०’ अन्तर्गत घोषणा गरेका थिए । करिब ५०० अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको यो परियोजनामार्फत पर्यटन, प्रविधि, उद्योग र हरित ऊर्जाको विकास गर्ने लक्ष्य राखिएको थियो ।

तर बढ्दो लागत, तेलको मूल्यमा गिरावट, क्षेत्रीय तनाव र सरकारी प्राथमिकतामा आएको परिवर्तनका कारण परियोजनाका केही ठेक्का रद्द तथा पुनर्संरचना गरिएको छ । यसले विदेशी श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर परेको हो ।

यदि सबै नेपाली श्रमिक फर्किनुपरेमा नेपालले मासिक कम्तीमा २ अर्ब ३६ करोड रुपैयाँ बराबरको विप्रेषण गुमाउने जोखिम रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १० : १५ बजे