५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

ओलीले ‘राजनीतिक परिस्थिति’ भन्दै विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण गराए



केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने अघिल्लो निर्णयलाई ‘राजनीतिक परिस्थिति’ को परिणाम भएको बताएका छन् ।

सोमबार गुन्डुमा बसेको नेकपा एमाले सचिवालय बैठकमा ओलीले भण्डारीको सदस्यता नवीकरण गर्ने प्रस्ताव पेश गर्दै संविधानले पूर्वराष्ट्रपतिलाई दलको सदस्य बन्न रोक नलगाएको बताए ।

बैठकमा ओलीले भण्डारीले एमालेमै सक्रिय हुने स्पष्ट प्रतिबद्धतासहित प्रक्रिया अनुसार निवेदन दिएको भन्दै सदस्यता नवीकरण गरिनुपर्ने धारणा राखेका थिए । उनको प्रस्तावमा कुनै असहमति नआएपछि सदस्यता नवीकरणको निर्णय सर्वसम्मत रूपमा पारित भएको स्रोतले जनाएको छ ।

गत वर्ष साउनको पहिलो साता एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। त्यसबेला पूर्वराष्ट्रपति संविधानको संरक्षक, नेपाली सेनाको पूर्व परमाधिपति तथा गणतन्त्रको प्रतीक भएकाले सक्रिय दलगत राजनीतिमा फर्कन उपयुक्त नहुने तर्क गरिएको थियो ।

त्यतिबेला प्रक्रिया पूरा नभएको कारण देखाउँदै सदस्यता नवीकरण रोकिएको थियो। तर यसपटक अध्यक्ष ओली स्वयंले प्रस्ताव ल्याएपछि भण्डारी पुनः एमालेको औपचारिक सदस्य बनेकी छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : १२ बजे