५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

अदालत प्रशासनविरुद्ध नेपाल बार आन्दोलनमा



नेपाल बार एसोसिएसन सर्वोच्च अदालतमा परेको दरपीठविरुद्धको निवेदन बिना कारण दर्ता नगरेको भन्दै अदालत प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएको छ ।

बारले निवेदन दर्ता नगरी रोकिराख्नु अदालत प्रशासनको अधिकार क्षेत्रबाहिरको कार्य भएको र यसले न्याय प्राप्तिको प्रक्रियामा अवरोध पुर्‍याएको ठहर गरेको छ ।

बारले मंगलबार दिउँसो १:१५ बजे आफ्नो परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गर्ने जनाएको छ। साथै सल्लाहकार र विभिन्न इकाइबाट प्राप्त सुझावका आधारमा थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताइएको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा कामु प्रधानन्यायाधीशको आदेशसमेत अवज्ञा गर्नु “असाधारण र अप्राकृतिक” कार्य भएको उल्लेख गर्दै यसलाई “ऐतिहासिक भूल” र प्रचलित कानुन आकर्षित हुने घटना भनेका छन् ।

बारले सोमबार प्रतिनिधिसभामा अदालतमा विचाराधीन विषयमाथि भएको टिप्पणीप्रति पनि आपत्ति जनाएको छ। संविधानको व्यवस्थाविपरीत केही सांसदहरूले दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाउन र यस्ता घटना दोहोरिन नदिन डोलप्रसाद अर्यालसमक्ष अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : १४ बजे