५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा, संसददेखि बारसम्म तीव्र विवाद



सपना प्रधान मल्लले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध परेको रिट दर्ता गर्न दिएको आदेश सर्वोच्च अदालत प्रशासनले कार्यान्वयन नगरेपछि न्यायालयभित्र असामान्य विवाद उत्पन्न भएको छ ।

सोमबार कामु प्रधानन्यायाधीश मल्लले दरपिठ भएका निवेदनहरू दिउँसो १ बजेसम्म दर्ता गरी मंगलबारका लागि पेसी तोक्न मौखिक निर्देशन दिएकी थिइन् । तर मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले आदेश कार्यान्वयन नगरी अदालतबाट बाहिरिएपछि उक्त आदेश पालना हुन सकेन ।

शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनीविरुद्ध सर्वोच्च अदालतमा विभिन्न रिट दायर भएका छन् । तीमध्ये केही निवेदन अदालत प्रशासनले दर्ता नगरी रोकेर राखेको थियो ।

यस घटनाले संसदमा पनि तीव्र प्रतिक्रिया जन्मायो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले प्रतिनिधिसभाको आकस्मिक समयमा कामु प्रधानन्यायाधीश मल्लको आलोचना गर्दै न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सक्रिय भएको आरोप लगाए । उनीहरूले मल्लको आदेश कानुनी आधारविहीन भएको दाबी गरे ।

यस क्रममा डोलप्रसाद अर्यालले सांसदहरूको अभिव्यक्तिलाई सीमित गर्न माइक काटेका थिए । त्यसपछि एमाले सांसद ऐन महरले संविधानको धारा १०५ अनुसार विचाराधीन मुद्दामाथि संसदमा छलफल गर्न नहुने भन्दै आपत्ति जनाए।

उता नेपाल बार एसोसिएसनले कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरिएको घटनालाई “ऐतिहासिक भूल” भन्दै कडा विरोध जनाएको छ । बारले अदालत प्रशासनले समानान्तर अदालत चलाएको आरोप लगाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ ।

बारले मंगलबार दिउँसो १:१५ बजे आफ्नै प्राङ्गणमा लालटिन बालेर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

संवैधानिक परिषद्ले वरीयताक्रममा चौथो स्थानमा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि सर्वोच्च अदालतभित्र विवाद चर्किएको हो। शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी परेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : १८ बजे