९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

पहिरोमा गोठ परिंदा दुई सय भेडा हराए



मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टे क्षेत्रमा पहिरो जाँदा एक भेडीगोठ पुरिएको छ । शनिबार आएको पहिरोमा परी दुई सयभन्दा बढी भेडा हराएका छन् ।

स्थानीय दलबहादुर गुरुङको भेडीगोठ पहिरोले बगाउँदा २१८ वटा भेडा पुरिएर हराएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार हालसम्म ३२ वटा भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् ।

वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको जनाइएको छ। घटनामा परेर २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

भेडीगोठमा रहेका अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन् ।

प्रहरीका अनुसार घटनास्थल अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ। उक्त स्थान नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा तथा झन्डै १० घण्टा पैदल दूरीमा पर्छ ।

घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ भने स्थानीय बासिन्दासमेत उद्धार तथा खोजी कार्यमा जुटेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  १० : ४९ बजे