नेकपा (एमाले) भित्र नेतृत्व परिवर्तनको बहस थप चर्किएको छ । पार्टी सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्दै पुनर्गठन र रुपान्तरणको पक्षमा बहुमत नेताहरू उभिएको संकेत देखिएको छ ।
शुक्रबारदेखि अध्यक्ष ओलीको भक्तपुरस्थित गुण्डु निवासमा जारी सचिवालय बैठकमा अधिकांश पदाधिकारीहरूले वर्तमान नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउँदै एमालेलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
बैठकमा चार उपाध्यक्ष, महासचिव शंकर पोखरेल, तीन उपमहासचिव र पाँच सचिवले ओलीले पार्टीलाई जोगाउन नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका हुन् । सचिव महेश बस्नेत भने ओलीको पक्षमा खुलेर उभिएका छन् ।
एक पदाधिकारीका अनुसार सचिवालय बैठकमा ओलीको पक्षमा अत्यन्त न्यून समर्थन देखिएको छ । “आज पनि ७–१ भयो,” ती पदाधिकारीले भने, “यस्तो बेला अध्यक्षलाई कसैले साथ दिँदैन, उहाँकै कारण अहिलेको अवस्था आएको निष्कर्ष धेरै साथीहरूको छ ।”
उनले सचिवालयका १९ सदस्यमध्ये अध्यक्ष ओली र उनका पक्षमा खुलेका दुई जनाबाहेक अधिकांश नेताले नेतृत्व परिवर्तनको पक्ष लिएको बताए । “पद्मा अर्याल, हिक्मत कार्कीलगायत नेताहरूले पनि ओलीले छोड्नुपर्छ भन्ने धारणा राख्नुभयो, त्यो पार्टी बचाउने कदमका रूपमा आएको हो,” ती पदाधिकारीको भनाइ छ ।
बैठकमा सचिव हिक्मत कार्की, पद्मा अर्याल र राजन भट्टराईले तल्लो तहसम्म पार्टी सञ्चालन गर्न कठिन भएको बताएका थिए । उनीहरूले प्रत्यक्ष रूपमा राजीनामा शब्द प्रयोग नगरे पनि वर्तमान नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने संकेत गरेको बताइएको छ ।
उपमहासचिव रघुवीर महासेठले ओलीकै नेतृत्वमा एमाले अहिले संकटमा पुगेको टिप्पणी गरेका थिए । “अध्यक्षज्यूले एमालेलाई यहाँसम्म ल्याउनुभयो, तर उहाँकै पालामा एमालेको यो अवस्था पनि भयो,” महासेठले बैठकमा भनेका थिए, “अब नयाँ ढंगले पुनर्गठन गरेर अघि बढ्नैपर्छ ।”
त्यस्तै, उपमहासचिव योगेश भट्टराईले ओलीको नेतृत्वमा एमाले अघि बढ्न नसक्ने भन्दै स्पष्ट रूपमा राजीनामाको माग गरेको स्रोतले जनाएको छ । महासचिव शंकर पोखरेलले पनि अब यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।
शनिबार धारणा राख्ने पाँच उपाध्यक्षमध्ये रामबहादुर थापा ‘बादल’ मात्र ओलीको पक्षमा उभिएका थिए । उनले संकटको समयमा नेतृत्वलाई साथ दिनुपर्ने र पार्टी मुख्यालयको रक्षा गर्नु सबैको दायित्व भएको बताएका थिए ।
बैठकमा नेताहरूले पुनर्गठन र मार्गप्रशस्तको कुरा उठाएपछि अध्यक्ष ओली आक्रामक रूपमा प्रस्तुत भएको एक पदाधिकारीले बताए । ओलीले आफू निर्वाचित नेतृत्व भएकाले पद नछाड्ने स्पष्ट संकेत दिएका छन् ।
“मलाई कसैले सम्झाउनै पर्दैन । यो पद मैले त्यसै लिएको होइन, बकाइदा चुनाव जितेर आएको हो,” ओलीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, “उहाँले पटक–पटक ‘म छोड्दिनँ’ भन्नुभयो ।”
एमाले प्रवक्तासमेत रहेका उपमहासचिव लेखराज भट्टले भने बीचको धारणा राखेका बताइएको छ । अन्य अधिकांश उपाध्यक्ष, उपमहासचिव र सचिव भने ओलीको विपक्षमा उभिएका छन् । केही नेताले ‘राजीनामा’ शब्द नै प्रयोग गरेका छन् भने केहीले ‘मार्गप्रशस्त’ गर्नुपर्ने धारणा राखेका छन् ।
दुई दिनदेखि जारी सचिवालय बैठकमा अधिकांश पदाधिकारीले आफ्नो धारणा राखिसकेका छन् । आइतबार चार जना सचिवले बोल्ने कार्यसूची रहेको छ। त्यसपछि बैठक निष्कर्षतर्फ जाने बताइएको छ ।
एमाले सचिवालय बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनसहित ११ वटा एजेन्डामाथि छलफल भइरहेको छ । अर्को बैठक आइतबार बिहान साढे ११ बजे अध्यक्ष ओलीकै गुण्डु निवासमा बस्नेछ ।









