१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

राजदूत नियुक्तिका लागि पहिलोपटक खुला आवेदन आह्वान



परराष्ट्र मन्त्रालयले पहिलोपटक राजदूत नियुक्तिका लागि खुला आवेदन आह्वान गरेको छ । मन्त्रालयले योग्य र इच्छुक नेपाली नागरिकलाई आगामी जुन ५ अर्थात् जेठ २२ गते अपराह्न ५ बजेसम्म आवेदन दिन आग्रह गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको कार्यविवरण (टीओआर) अनुसार राजदूत पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, ३५ वर्ष उमेर पूरा गरेको हुनुपर्ने तथा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको, विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति पत्र तथा अन्य सुविधा प्राप्त नगरेको व्यक्ति मात्र योग्य हुने व्यवस्था गरिएको छ ।

त्यस्तै भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको, नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्विपक्षीय–बहुपक्षीय कूटनीतिबारे पर्याप्त अनुभव र ज्ञान भएको, मुलुकको प्रतिनिधित्व गर्न सक्ने क्षमता भएको तथा अंग्रेजी भाषामा राम्रो दख्खल भएको हुनुपर्ने योग्यता तोकिएको छ । कालोसूचीमा नपरेको लगायतका १५ बुँदे मापदण्ड मन्त्रालयले निर्धारण गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले स्वयं आवेदन दिन सक्नेछन्। साथै अन्य व्यक्ति वा संस्थाले पनि योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ। प्राप्त आवेदनहरूमध्येबाट मन्त्रालयले छोटोसूची सार्वजनिक गर्ने जनाएको छ ।

मन्त्रालयले राजदूत नियुक्ति प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धी र योग्यतामा आधारित बनाउन पहिलोपटक खुला आवेदन प्रणाली लागू गरिएको जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ९ : ५२ बजे