५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

रास्वपामा पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढ्ने, ५० केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक संरचनामा व्यापक विस्तार गर्ने तयारी गरेको छ । पार्टीले एक जना उपसभापति, एक जना महामन्त्री, दुई जना सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था विधानमा समेट्ने तयारी गरेको हो ।

पार्टीका एक नेताका अनुसार सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा रहेको विधान संशोधन समितिले सुरुमा कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित ६ जना पदाधिकारी र २९ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव गरेको थियो । तर, सचिवालय स्तरमा भएको छलफलपछि उक्त प्रस्तावलाई संशोधन गर्दै थप एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा केन्द्रीय सदस्यको संख्या बढाउने तयारी गरिएको छ ।

संशोधित प्रस्ताव शनिबार बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिनेछ । केन्द्रीय समितिबाट अनुमोदन भएपछि महाधिवेशनमा प्रस्तुत गरिने विधानको अन्तिम मस्यौदा तयार हुने बताइएको छ ।

रास्वपाको सचिवालय बैठकले आइतबारदेखि सुरु हुने महाधिवेशनमा मनोनयनबाट आउने पदबाहेक अन्य सबै पद निर्वाचनमार्फत चयन गर्ने निर्णय गरेको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टी विधानमा ‘वरिष्ठ नेता’ पद समावेश गर्ने निर्णय पनि गरेको थियो ।

यद्यपि विपिन आचार्य नेतृत्वको विधान संशोधन समितिले तयार पारेको प्रतिवेदनमा वरिष्ठ नेता पदको प्रस्ताव थिएन । तर सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको सचिवालय बैठकले पार्टीको शीर्ष संरचनामा वरिष्ठ नेता पद थप्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

यसअघि चुनावअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो । अब उक्त पदलाई विधानमै संस्थागत गर्ने तयारी गरिएको छ ।

सचिवालय बैठकले केन्द्रीय समितिको आकार पनि उल्लेख्य रूपमा बढाउने निर्णय गरेको छ । हाल १२१ सदस्यीय रहेको केन्द्रीय समिति अब १५८ सदस्यीय बनाइने भएको छ । विधान संशोधन समितिले भने केन्द्रीय सदस्य संख्या १३६ पुर्‍याउने प्रस्ताव गरेको थियो ।

त्यसैगरी पार्टीले पदाधिकारीको संख्या बढाएर १९ सदस्यीय बनाउने निर्णय पनि गरेको छ । नयाँ संरचनाअनुसार पार्टीमा एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहनेछन् ।

‘रास्वपामा अब १५८ केन्द्रीय सदस्य, १९ पदाधिकारी, एक वरिष्ठ नेता र एक सभापति रहने संरचना तय गरिएको छ,’ एक नेताले बताए ।

महाधिवेशन नजिकिँदै जाँदा रास्वपाले संगठन विस्तार, समावेशी प्रतिनिधित्व र नेतृत्व तहको पुनर्संरचनामार्फत पार्टीलाई थप संस्थागत बनाउने प्रयास गरेको देखिएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : ०२ बजे