राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा भव्य रूपमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले संयुक्त रूपमा घण्टी बजाएर गरेका हुन् ।
महाधिवेशनमा देशभरबाट ४ हजार २ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन् । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । उनीहरूले रास्वपालाई शुभकामना दिँदै आगामी राजनीतिक यात्राका लागि सुझाव तथा सन्देश दिएका छन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्रको एकता नै रास्वपाको सबैभन्दा ठूलो शक्ति भएको बताए । उनले पार्टी एकताबद्ध रहेमा भविष्यमा रास्वपालाई चुनौती दिने राजनीतिक शक्ति सहजै नआउने दाबी गरे । प्रधानमन्त्री बालेन शाहसँगको सहकार्यबारे उनले रोचक शैलीमा भने, “बालेनजी गोल हान्नुस्, म बल पास गर्छु। झुक्किएर बल अन्त गए पनि म बालेनको खुट्टामा नै पास गर्नेछु ।” उनले यसलाई पार्टी र सरकारबीचको समन्वयको प्रतीकका रूपमा व्याख्या गरे ।
लामिछानेले देशको वर्तमान राजनीतिक परिस्थितिमा रास्वपाले जिम्मेवार भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आन्दोलन र जनभावनालाई बेवास्ता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रधानमन्त्री बालेन शाहले आफ्नो नेतृत्वको सरकार तीव्र गतिमा अघि बढिरहेको दाबी गर्दै “हाम्रो सरकार एक्सप्रेस वेमा गुडिरहेको गाडी जस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ” भने । उनले आफ्नो राष्ट्रियतामाथि कुनै शंका नगर्न आग्रह गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखेर काम गरिरहेको बताए। मञ्चमा रवि लामिछानेसँग भएको ‘बल पास र गोल’ सम्बन्धी संवादमार्फत उनले पार्टीभित्र तथा सरकारमा कुनै मतभेद नरहेको सन्देश दिन खोजेका थिए ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपालाई लोकतान्त्रिक प्रतिस्पर्धीका रूपमा स्वीकार गर्दै “रास्वपा कांग्रेसको राजनीतिक प्रतिस्पर्धी हो, दुस्मन होइन” भने । उनले विधिको शासन र लोकतान्त्रिक मूल्यको रक्षा गर्नुपर्नेमा जोड दिँदै तीव्र सफलतासँगै आउन सक्ने अहंकार र दम्भबाट जोगिन रास्वपालाई सुझाव दिए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रवि लामिछाने र बालेन शाहलाई आगामी तीन दशकसम्म देशको नेतृत्व गर्ने सम्भावना भएका नेताका रूपमा चित्रित गरे । उनले “घण्टी छापलाई अब सुशासन र विकासमा परिणत गरेर देखाउनुस्” भन्दै जनताले देखाएको विश्वासलाई परिणाममा रूपान्तरण गर्न आग्रह गरे। साथै दुवै नेतालाई निरन्तर संवाद र सहकार्यमा रहन सुझाव दिए ।
उद्घाटन सत्रमा अन्य दलका नेताहरूले पनि रास्वपालाई रचनात्मक सुझाव दिएका थिए । नेकपा (एमाले) का प्रदीप ज्ञवालीले सरकार सञ्चालनमा गति मात्र नभई सन्तुलन पनि आवश्यक हुने उल्लेख गर्दै “गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि चाहिन्छ” भन्दै सचेत गराए । नेकपाका वर्षमान पुनले सामाजिक न्याय, लोकतान्त्रिक प्रणाली र संविधानको परिधिभित्र रहेर राजनीतिक थिति बसाल्न आग्रह गरे ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले दिएको ऐतिहासिक अवसरलाई सदुपयोग गर्न रास्वपालाई सुझाव दिए भने जनमत पार्टीका अध्यक्ष सीके राउतले महाधिवेशनलाई “नेपाली राजनीतिको क्रान्तिको उत्सव” को संज्ञा दिए ।
रास्वपाको पहिलो महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा विभिन्न राजनीतिक, संगठनात्मक र नीतिगत प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ ।









