८ असार २०८३, सोमबार | Mon Jun 22 2026

रास्वपाको बन्दसत्र व्यवस्थापकीय कमजोरीका कारण स्थगित, भोलि मात्रै सुरु हुने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र व्यवस्थापकीय कमजोरीका कारण आज (सोमबार) स्थगित भएको छ । अब यो सत्र भोलि (मंगलबार) मध्याह्न १२ बजेपछि मात्रै सुरु हुने भएको छ ।

आज साँझ चितवन उद्योग संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष झाले प्राविधिक र व्यवस्थापकीय तयारी नपुगेका कारण बन्दसत्र पूर्वनिर्धारित समयमा हुन नसकेको जानकारी दिएका हुन् ।

“महाधिवेशन प्रतिनिधिहरूको विवरण रुजु गर्ने र परिचयपत्र (कार्ड) प्रिन्ट गर्ने कार्यमा प्राविधिक समस्या उत्पन्न हुँदा आज बन्दसत्र सुरु गर्न सकिएन,” प्रवक्ता झाले पत्रकार सम्मेलनमा भने, “हाम्रो तर्फबाट व्यवस्थापकीय कमजोरी भयो, त्यसका लागि क्षमाप्रार्थी छौँ । भोलि मध्याह्न १२ बजेपछि मात्र बन्दसत्रको कार्यक्रम अगाडि बढ्नेछ ।”

रास्वपाले यसअघि असार ७ गतेदेखि ९ गतेसम्मका लागि महाधिवेशनको मिति तय गरेको थियो । तर, महत्वपूर्ण मानिएको बन्दसत्रको कार्यक्रम एक दिन पर सरेपछि अब महाधिवेशनको समग्र समयावधि पनि थप गरिएको छ ।

सत्र लम्बिएसँगै देशैभरिबाट आएका महाधिवेशन प्रतिनिधिहरूको बसाई र खानपानको अवधि पनि थपिएको छ । यसबाट सिर्जना हुने आर्थिक भार र व्यवस्थापनका विषयमा पार्टीले आवश्यक तयारी गरिसकेको र यसबारे गम्भीरतापूर्वक सोचिएको प्रवक्ता झाले स्पष्ट पारेका छन् ।

चितवनमा जारी यस महाधिवेशनलाई रास्वपाको भावी राजनीतिक दिशा र नेतृत्व चयनका दृष्टिले निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ५४ बजे