८ असार २०८३, सोमबार | Mon Jun 22 2026

देशभर रेबिज विरुद्धको खोपको चरम अभाव, टेकु अस्पतालमा बिरामीको भीड



देशभरका सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिज विरुद्धको खोप (एआरभी) को चरम अभाव भएको छ । सरकारले खोप खरिदका लागि आह्वान गरेको टेन्डर दुई पटकसम्म रद्द भएका कारण आपूर्ति ठप्प भई देशभर यसको हाहाकार मच्चिएको हो ।

स्थानीय स्वास्थ्य संस्थाहरूमा खोप नपाएपछि काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र रसुगायतका जिल्लाबाट दैनिक सयौँ बिरामीहरू काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल धाउन बाध्य भएका छन् । टेकु अस्पतालमा आइतबार मात्रै २७० जना बिरामी खोप लगाउन पुगेका थिए । अस्पताल प्रशासनका अनुसार हाल हेटौँडाबाट केही मात्रा मागेर काम चलाइएको र अब भोलिसम्मलाई मात्र पुग्ने खोप बाँकी रहेको छ ।

यसैबीच, गत शनिबार मात्रै टेकु अस्पतालमा काठमाडौँ चन्द्रागिरिका ४८ वर्षीय एक व्यक्तिको रेबिजका कारण उपचारका क्रममा मृत्यु भएको छ । उनलाई चार महिनाअघि घरकै सानो कुकुरले टोकेको तर सामान्य ठानेर खोप नलगाएका कारण मृत्यु भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । रेबिज लागेपछि मृत्युदर शतप्रतिशत हुने भएकाले खोप अभाव लम्बिएमा आगामी दुई-तीन महिनामा मृत्युदर बढ्न सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. अनुज भट्टचनले दुई पटकको टेन्डर प्रक्रिया रोकिए पनि अहिले तेस्रो प्रयासअन्तर्गत १६ करोड ९८ लाख रुपैयाँ बराबरको खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । हाललाई अभाव टार्न बढी मौज्दात भएका ठाउँबाट खोप स्थानान्तरण गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : ०५ बजे