८ असार २०८३, सोमबार | Mon Jun 22 2026

राहदानी छपाइमा अख्तियारद्वारा १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



राहदानी छपाइमा भएको गम्भीर अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले टंगालस्थित आफ्नो कार्यालयबाट अनुसन्धान टुङ्ग्याउँदै विभागका कर्मचारी, परराष्ट्र मन्त्रालयका अधिकारी र दुईवटा विदेशी कम्पनीका प्रतिनिधिहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । उनीहरूमाथि कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो कायम गरिएको छ ।

अख्तियारका अनुसार राहदानी छपाइका लागि आह्वान गरिएको बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितता भएको उजुरी परेपछि अनुसन्धान थालिएको थियो । अनुसन्धानका क्रममा कर्मचारी र विदेशी कम्पनीबीच आपसी मिलेमतो, योजना र संलग्नतामा सरकारलाई अर्बौँको हानि-नोक्सानी पुर्‍याई गैरकानुनी लाभ लिएको पुष्टि भएको छ ।

सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लंघन गर्दै दुईवटा जर्मन कम्पनीहरूलाई मात्रै ठेक्का पर्ने गरी प्रावधानहरू हेरफेर गरिएको दाबी अख्तियारको छ ।

मुद्दा दायर गरिएका सरकारी अधिकारीहरूमा विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, तत्कालीन निर्देशकद्वय शत्रुध्वनप्रसाद शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाईं तथा तत्कालीन शाखा अधिकृत सोमेश थापा रहेका छन् । त्यस्तै, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवहरू राजाराम दाहाल, भेषप्रसाद भुर्तेल र पुस्करराज नेपाललाई पनि प्रतिवादी बनाइएको छ ।

यस खरिद प्रक्रियामा राहदानीको प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट र डाटा म्यानेजमेन्ट सिस्टमको ठेक्का पाएको जर्मन कम्पनी म्युल्बाउअर आइडी सर्भिसेसका प्रतिनिधिहरू गेरहार्द माउरेर, पाभ्ली राकिक र नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ल विरुद्ध १ अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

त्यसैगरी, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङको ठेक्का पाएको अर्को जर्मन कम्पनी भेरोडोसका प्रतिनिधिहरू फाबियोला बेलरशेइम, फ्लोरियन पाकक्वेलिन र नेपाल प्रतिनिधि सिद्धार्थ थापा विरुद्ध ८ अर्ब २२ करोड ३५ लाख ४ हजार ४४४ रुपैयाँको बिगो कायम गरिएको छ ।

यसअघि अनुसन्धानकै सिलसिलामा अख्तियारले असार २ गते पूर्वपरराष्ट्र मन्त्री आरजु राणालाई बयानका लागि उपस्थित हुन भन्दै बूढानीलकण्ठस्थित उनको भवन बाहिर म्याद तामेलीको सूचना टाँस गरेको थियो । त्यस्तै, असार ४ गते ‘द राइजिङ नेपाल’ मा सूचना जारी गर्दै अख्तियारले प्रतिवादी बनाइएका दुवै जर्मन कम्पनीलाई भौतिक वा भर्चुअल माध्यमबाट उपस्थित हुन म्याद दिएको थियो ।

यसै प्रकरणमा असार २ गते प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका सदस्यहरूले अख्तियारका पदाधिकारीहरूसँग केरकार गरी महानिर्देशक अर्याललाई पक्राउ गर्न पुर्जी जारी गर्न लगाएपछि प्रहरीले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : १२ बजे