काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापा नियुक्त भएका छन्।
शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका हुन्। साथै, सेवा आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्के नियुक्त भएकी छन्।
सचिवालयले दुवै नियुक्ति सेवा आयोगलाई प्रभावकारी, पारदर्शी र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको जनाएको छ।
अध्यक्ष छनोटका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति पोखरेलको नेतृत्वमा गठन भएको सिफारिस समितिले प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति शाहले थापालाई अध्यक्ष नियुक्त गरेका हुन्।
सेवा आयोग अध्यक्ष पदका लागि गत जेठ महिनामा योग्य इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको थियो। निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको मूल्यांकनपछि योग्य उम्मेदवारहरूको नाम सिफारिस गरिएको सचिवालयले जनाएको छ।
आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। उनी सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा जल तथा ऊर्जा आयोग सचिवालयमा सचिवका रूपमा कार्यरत थिए।
थापाले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति तथा नेपाल पर्यटन वर्ष–२०११ जस्ता महत्वपूर्ण सरकारी नीति तथा कार्यक्रमको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा समेत योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्।









