काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो कटौती गरेकै दिन बजारमा इन्धनको कृत्रिम अभाव देखिएको छ। बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटाइए पनि अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा उपभोक्ताले घण्टौं लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो।
बिहानैदेखि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा ‘पेट्रोल र डिजेल छैन’ भन्ने सूचना टाँसिएको थियो। निजी पम्प बन्द भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पमा भने उपभोक्ताको लामो भिड लागेको देखियो। वीरगञ्ज, पोखरा लगायत अन्य सहरबाट पनि यस्तै गुनासो आएका छन्।
निगमले नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १९५ रुपैयाँ कायम गरेको छ। साथै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ।
आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य घट्ने जानकारी पाएपछि धेरै निजी व्यवसायीले मंगलबार डिपोबाट इन्धन नै नउठाएका कारण बुधबार बिहान अधिकांश पम्पको भण्डारण ट्यांकी खाली भएको थियो।
थानकोट डिपो प्रमुख जगदीश यादवका अनुसार सामान्य अवस्थामा दैनिक ८ सयदेखि ८ सय ५० किलोलिटर इन्धन बिक्री हुनेमा मंगलबार केवल १८१ किलोलिटर पेट्रोल र ६६ हजार लिटर डिजेल मात्रै बिक्री भएको थियो। उनले बुधबार करिब १ हजार ३ सय किलोलिटर पेट्रोल र १ हजार २ सय ५० किलोलिटर डिजेल बजार पठाइएको तथा साँझसम्म आपूर्ति सहज हुने बताए।
यस्तै, अमलेखगन्ज डिपो प्रमुख अशोक शाहका अनुसार दैनिक करिब १७ लाख लिटर इन्धन बिक्री हुने डिपोबाट मंगलबार जम्मा ६७ हजार लिटर पेट्रोल र १ लाख ८१ हजार लिटर डिजेल मात्र उठाइएको थियो। उनका अनुसार अमलेखगन्जबाट काठमाडौंसहित विराटनगर, भैरहवा, जनकपुर र वीरगञ्जका लागि पर्याप्त इन्धन पठाइएको छ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले मूल्य घट्ने सूचना आयल निगमकै अधिकारीबाट व्यवसायीलाई चुहाइएका कारण कृत्रिम अभाव सिर्जना भएको आरोप लगाएका छन्।
उनले निगम व्यवस्थापन, सञ्चालक समिति र केही कर्मचारीले मूल्य समायोजनको जानकारी व्यवसायीलाई पूर्वसूचना दिएर बजारमा आपूर्ति रोकिने अवस्था सिर्जना गरेको दाबी गर्दै यसलाई “उपभोक्तामाथिको अपराध” भनेका छन्।
तिमल्सिनाले पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले बिक्री रोक्ने व्यवसायी र आपूर्ति व्यवस्थापन गर्न नसक्ने निगम दुवैमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भने मूल्य घटेका कारण जानाजानी इन्धन बिक्री रोकेको आरोप अस्वीकार गरेको छ।
एसोसिएसनका अध्यक्ष विश्व अर्यालले केही समयका लागि डिपोबाट इन्धन लोड भएर पम्पसम्म पुग्न ढिलाइ भएकाले आपूर्तिमा सामान्य अन्तर देखिएको मात्र दाबी गरे। उनका अनुसार अहिले काठमाडौंका सबै पेट्रोल पम्पमा इन्धन बिक्री सामान्य अवस्थामा फर्किएको छ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले व्यवसायीले माग गरेअनुसार मात्रै इन्धन आपूर्ति गर्न सकिने भन्दै निगमले व्यवसायीलाई जबरजस्ती तेल उठाउन बाध्य पार्न नसक्ने बताए।
उनले अनुगमनका क्रममा कतिपय पम्पमा इन्धन सकिएको र केहीमा एक प्रकारको इन्धन मात्र उपलब्ध रहेको जानकारी दिँदै, इन्धन भएर पनि बिक्री नगरेको प्रमाण भेटिएमा मात्रै कारबाही गर्न सकिने स्पष्ट पारे।
यद्यपि, मूल्य घटेको दिन नै बजारमा व्यापक अभाव देखिएपछि निगमको पूर्वतयारी र आपूर्ति व्यवस्थापन क्षमतामाथि प्रश्न उठेको छ। उपभोक्ताले राहत पाउने दिनमै घाम–पानीमा लाइन बस्नुपरेको भन्दै निगम र निजी व्यवसायी दुवैको आलोचना भइरहेको छ।









