सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन बिक हत्या प्रकरणमा पाँच वर्षको कैद सजाय पाएका नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालका अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले बिहीबार साँझ करिब ६ बजे गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट कोइरीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका कोइरीलाई शुक्रबार अदालतमा उपस्थित गराइनेछ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ।
उच्च अदालत जनकपुरले २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा मधेस आन्दोलनका क्रममा ड्युटीमा रहेका सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा पूर्वसंघीय सांसद लक्ष्मी महतो कोइरी र निलम्बित मधेस प्रदेशसभा सदस्य अभिराम शर्मासहित छ जनालाई जनही पाँच वर्ष कैद सजाय सुनाएको थियो।
कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले कोइरी, शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १७(२) नम्बरअन्तर्गत दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको हो।
यस्तै, सोही इजलासले प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई असई बिकमाथि प्रत्यक्ष आक्रमण गरी हत्या गरेको ठहर गर्दै जन्मकैदको सजाय कायम राखेको थियो। महोत्तरी जिल्ला अदालतले २०८० मङ्सिर २८ गते उनीहरूलाई जन्मकैदको फैसला गरेको थियो, जसलाई उच्च अदालतले सदर गरेको हो।
उच्च अदालतको फैसलामा घटनास्थलका प्रमाण, प्रतिवादीहरूको बयान तथा अनुसन्धानका क्रममा संकलित साक्ष्यका आधारमा प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरको प्रत्यक्ष संलग्नता पुष्टि भएको उल्लेख छ। कोइरीसहित अन्य छ जनाले भने प्रत्यक्ष प्रहार गरेको वस्तुनिष्ठ प्रमाण नभेटिए पनि सहअभियुक्तहरूको बयान तथा अन्य प्रमाणका आधारमा हत्या योजनामा संलग्न रहेको ठहर गरिएको अदालतले जनाएको छ।
२०७२ सालको मधेस आन्दोलनका क्रममा महोत्तरीको जलेश्वरमा ड्युटीमा खटिएका असई थमन बिकमाथि आन्दोलनकारीको समूहले कुटपिट गर्दा उनको मृत्यु भएको थियो। उक्त घटनापछि कोइरीको प्रतिनिधिसभा सदस्य पद निलम्बन भएको थियो भने अभिराम शर्मा पनि प्रदेशसभा सदस्यबाट निलम्बित छन्।









