२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

रास्वपामा शक्तिशाली सभापति, निर्देशन नमाने संसदीय दलको नेता स्वतः पदमुक्त हुने



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरे संसदीय दलको नेताको पद स्वतः रिक्त हुने व्यवस्था आफ्नो नयाँ विधानमा समावेश गरेको छ ।

चितवनमा असार ७ देखि १३ गतेसम्म सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा यस्तो प्रावधान राखिएको हो । उक्त विधान सोमबार मात्रै पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।

रास्वपाका सभापति रवि लामिछाने महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका हुन् भने संसदीय दलको नेतामा वालेन्द्र शाह छन् । गत पुस १३ गते सभापति लामिछाने र शाहबीच भएको सातबुँदे सहमतिअनुसार पार्टीको नेतृत्व सभापतिले तथा सरकारको नेतृत्व वरिष्ठ नेताले गर्ने समझदारी भएको थियो ।

विधानको दफा ६८ मा संसदीय दलको नेतालाई पदमुक्त गर्ने तथा प्रत्याह्वानसम्बन्धी व्यवस्था गरिएको छ । दफा ६८ (१) अनुसार संसदीय दलको नेताको पद विभिन्न अवस्थामा स्वतः रिक्त हुने उल्लेख छ । यसमा लिखित राजीनामा वा मृत्यु, सांसद पद नरहने अवस्था, पार्टी त्याग वा निष्कासन, सरकारको नेतृत्व गरिरहेको अवस्थामा संसदमा विश्वासको मत गुमाउने, सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगर्ने तथा संसदीय दलमा अविश्वास वा प्रत्याह्वान प्रस्ताव पारित हुने अवस्था समावेश छन् ।

विधानको दफा ११ (क) मा सभापतिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गरिएको छ । सोही दफाको उपदफा ३ अनुसार, सभापति संसदीय दलको नेता नरहेको अवस्थामा संसदमा पार्टीको आधिकारिक नीति, सिद्धान्त, निर्णय र दृष्टिकोणको प्रभावकारी कार्यान्वयनका लागि संसदीय दललाई आवश्यक नीतिगत मार्गनिर्देशन दिन सक्ने व्यवस्था गरिएको छ । साथै, यस्तो मार्गनिर्देशनको पालना गर्नु संसदीय दल, संसदीय दलका नेता तथा सदस्यहरूको अनिवार्य कर्तव्य हुने उल्लेख गरिएको छ ।

यस व्यवस्थाअनुसार सभापतिले दिएको नीतिगत निर्देशन पालना नगरे संसदीय दलको नेताको पद स्वतः रिक्त हुने कानुनी आधार रास्वपाको नयाँ विधानले दिएको छ । साथै, संसदीय दलको नेतालाई प्रत्याह्वान गर्ने व्यवस्था पनि विधानमा समेटिएको छ। प्रत्याह्वान प्रस्ताव पारित भएमा पनि दलको नेताको पद स्वतः रिक्त हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  १० : १३ बजे