२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

राहदानी विभागअगाडि आत्मदाह प्रयास : ‘ह्विल लक’बाट सुरु भएको विवाद



काठमाडौं । राहदानी विभागअगाडि मोटरसाइकलमा ‘ह्विल लक’ लगाइएपछि २५ वर्षीय राइड–शेयरिङ चालक गणेश नेपालीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। शरीरको करिब ७० प्रतिशत भाग जलेका उनी गम्भीर अवस्थामा वीर अस्पतालको बर्न युनिटमा उपचाररत छन्।

घटनापछि उनका दाइ मदन नेपाली बालाजु हाइटस्थित डेराबाट हतारिँदै वीर अस्पताल पुगे। अपरिचित नम्बरबाट नेपाल प्रहरीको फोन आएपछि उनी सुरुमा घटनामाथि विश्वास गर्नै सकेनन्।

“म त अक्क न बक्क भएँ। यहाँ आएर पो सबै कुरा थाहा पाएँ,” अस्पताल परिसरमा भावुक हुँदै उनले भने।

मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेश केही वर्षदेखि काठमाडौंमा राइड–शेयरिङ चालकका रूपमा काम गर्दै आएका थिए। श्रीमती र झन्डै तीन वर्षकी छोरीसँग भक्तपुरमा बस्दै आएका उनी बुधबार बिहान भने दाइको डेरामा पुगेका थिए। “बिहान ५ बजे नै राइड गर्न निस्केको थियो। एक्कासी यस्तो खबर आयो,” मदनले भने।

उनका अनुसार गणेश दुबईमा वैदेशिक रोजगारीमा जाने प्रयाससँगै लोकसेवा आयोगको तयारी पनि गरिरहेका थिए।

अस्पतालमा बोलेका अन्तिम शब्द

मदनका अनुसार इमर्जेन्सी कक्षमा केहीबेर भाइसँग कुरा गर्ने अवसर मिलेको थियो। “बाबा–मम्मीलाई ख्याल गर्नु भन्नुभयो। अनि ‘यो सबै महानगरले गर्दा हो’ यति भनेपछि भाइको बोली हरायो,” उनले सुनाए।

घटना कसरी भयो?

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार राहदानी विभागअगाडि पार्क गरिएको गणेशको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ‘ह्विल लक’ लगाएका थिए। त्यसपछि उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा छर्किएर आगो लगाएका हुन्।

प्रहरीले तत्काल उद्धार गरी उनलाई वीर अस्पताल पुर्‍याएको घिमिरेले बताए।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी विष्णुप्रसाद जोशीका अनुसार सार्वजनिक आवागमनमा अवरोध हुने गरी पार्क गरिएका सवारीसाधनमा ‘ह्विल लक’ लगाउने नियमित प्रक्रिया हो।

उनका अनुसार ह्विल लक लगाएको करिब दुई घण्टापछि गणेशले जरिवाना नतिर्ने बताएपछि नगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली मोटरसाइकल उठाउन पुगेको थियो।

“हाम्रा कर्मचारी गाडीको अगाडि अन्य काममा व्यस्त रहेका बेला उनले मोटरसाइकलबाट पेट्रोल निकालेर आफैंमाथि छर्केर आगो लगाएछन्। केहीबेरपछि मात्रै कर्मचारीहरूले त्यो अवस्था देखे,” जोशीले भने।

जोशीका अनुसार महानगरले ह्विल लक गरिएका दुईपांग्रे सवारीका लागि एक हजार रुपैयाँ जरिवाना लिने व्यवस्था छ। उनले भने, “एक हजार रुपैयाँ जरिवाना मात्रै यस्तो घटनाको कारण हुन सक्दैन। अन्य कारण पनि हुन सक्छन्।”

यता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज अधिकारीले भने उक्त घटनामा ट्राफिक प्रहरीको प्रत्यक्ष संलग्नता नरहेको र महानगरले सवारी उठाउने प्रक्रिया अघि बढाएको बताए। उनका अनुसार ट्राफिक प्रहरीले यस्तै प्रकृतिका उल्लंघनमा सामान्यतः ५०० रुपैयाँ जरिवाना गर्ने गर्छ।

आर्थिक संकटसँग जुधिरहेको परिवार

घटनापछि गणेशकी श्रीमती एकमाया नेपाली तीन वर्ष नपुगेकी छोरीलाई काखमा च्यापेर वीर अस्पताल पुगेकी थिइन्। तर आकस्मिक उपचार कक्षमा प्रवेश गर्न नपाएपछि उनी बाहिरै बसेर श्रीमान्को अवस्थाबारे जानकारी पर्खिरहेकी थिइन्।

“खै कसरी यस्तो भयो? म केही भन्न सक्ने अवस्थामा छैन,” उनले भनिन्।

उनका अनुसार गणेशले किस्तामा मोटरसाइकल किनेका थिए। “झन्डै तीन लाख रुपैयाँमा किनेको जस्तो लाग्छ। आधाजति किस्ता तिरेको भन्नुहुन्थ्यो,” उनले भनिन्।

दाइ मदनले उपचार खर्च जुटाउनसमेत कठिन भएको बताए। “मेरो नागरिकता देखाएर उधारोमा औषधि ल्याएको छु। अब थप खर्च कसरी जुटाउने भन्ने चिन्ता छ,” उनले भने।

पहिलेदेखि थियो जरिवानाप्रतिको असन्तुष्टि

परिवारका आफन्त मन नेपालीका अनुसार गणेशले नगर प्रहरीबाट पटक–पटक जरिवाना तिर्नुपरेको गुनासो गर्ने गरेका थिए। कहिलेकाहीँ एकै दिन दुईपटकसम्म जरिवाना तिर्नुपरेको भन्दै उनले दुःख व्यक्त गर्ने गरेको मनले बताए।

उनले देखाएको १३ असारको एउटा सन्देशमा गणेशले लेखेका थिए, “हिजो सामान लिन गएको बेला नगर पुलिसले ताला लगाइदियो यार। एक हजार तिर्नुपर्ने भयो,” भन्दै रोइरहेको इमोजीसमेत प्रयोग गरेका थिए।

गाउँमा आर्थिक अवस्था कमजोर

गणेशको घर रहेको मुगुको सोरु गाउँपालिका–१ का वडाध्यक्ष धनकर्ण मल्लका अनुसार उनको परिवार आर्थिक रूपमा कमजोर छ।

“गाउँमा खेतीपातीले वर्षभरि खान पनि पुग्दैन। कामको खोजीमा काठमाडौं पुगेका थिए। यस्तो दुःखद घटना भयो,” उनले भने।

चिकित्सक : अवस्था चिन्ताजनक

वीर अस्पतालका बर्न युनिट प्रमुख डा. पियुस दाहालका अनुसार गणेशलाई सुरुमा आकस्मिक कक्षमा उपचार गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ र अवस्था अत्यन्त गम्भीर छ।

आत्मदाहका प्रयास : विरोधको प्रतीक कि व्यक्तिगत निराशा?

नेपालमा हरेक वर्ष हजारौं मानिसले आत्महत्या गर्ने गरे पनि सार्वजनिक स्थलमा गरिने आत्मदाहका प्रयासलाई सामान्य आत्महत्याभन्दा फरक सन्दर्भमा पनि हेरिन्छ। यस्ता घटनाहरू प्रायः राज्य, प्रशासन वा सामाजिक व्यवस्थाप्रतिको गहिरो असन्तुष्टि, विरोध वा निराशाको सार्वजनिक अभिव्यक्तिका रूपमा व्याख्या गरिन्छ।

यद्यपि गणेश नेपालीको घटनाको वास्तविक कारण के थियो भन्ने विषय अनुसन्धानबाट मात्रै स्पष्ट हुनेछ। प्रारम्भिक विवरणअनुसार मोटरसाइकलमा ह्विल लक लगाइएपछि घटना भएको देखिए पनि त्यसअघि उनीमाथि आर्थिक, व्यावसायिक वा व्यक्तिगत रूपमा कस्ता दबाब थिए भन्ने पक्ष खुल्न बाँकी छ।

नेपालमा यसअघि भएका चर्चित आत्मदाहका घटनाहरू

नेपालमा यसअघि पनि आत्मदाहका प्रयासले राष्ट्रिय बहस सिर्जना गरेका छन्।

  • २०७९ फागुन : इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको निधन भएको थियो। उक्त घटनाले राज्यको सेवा प्रवाह, आर्थिक संकट र नागरिकको निराशाबारे व्यापक बहस जन्माएको थियो।
  • २०८२ कार्तिक : गायिका नितु पौडेलले काठमाडौंमा आत्मदाह गरेकी थिइन्। उपचारका क्रममा उनको मृत्यु भएको थियो।
  • २०८३ असार : नागरिकताको माग गर्दै माइतीघर मण्डलामा एक युवाले आत्मदाहको प्रयास गरेका थिए।
  • विगतमा काठमाडौंको बौद्ध क्षेत्रमा पनि चीनको तिब्बत नीतिको विरोधस्वरूप केही तिब्बतीहरूले आत्मदाहका प्रयास गरेका घटनाहरू सार्वजनिक भएका छन्।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १० : १७ बजे