२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी आश्विन राउतको उपचारकै क्रममा मृत्यु



काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा ४५ वर्षीय राउतको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक डा. पीयूष दाहालले जानकारी दिए। उनका अनुसार राउतलाई अस्पताल ल्याउँदासम्म अवस्था अत्यन्तै चिन्ताजनक भइसकेको थियो।

डा. दाहालका अनुसार राउतको शरीरको ६० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनी बेहोस अवस्थामा अस्पताल ल्याइएका थिए। उपचारका क्रममा एकपटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) पछि मुटुको चाल फर्किए पनि दोस्रो पटक मुटुको चाल रोकिएपछि चिकित्सकहरूको प्रयास सफल हुन सकेन।

शनिबार बिहान बुद्धनगरस्थित आफ्नै निवासमा राउतले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनापछि प्रहरीले उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले घटनाको कारण पारिवारिक विवाद हुन सक्ने देखाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यससँगै पछिल्ला तीन दिनभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटनामा तीन जना परेका छन्। बिहीबार मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौंस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

यस्तै, शुक्रबार सर्लाहीको गोडैता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था अझै गम्भीर छ।

हालैका यस्ता घटनाहरूले मानसिक स्वास्थ्य, पारिवारिक तनाव, सामाजिक दबाब तथा संकटमा परेका व्यक्तिका लागि समयमै सहयोग र परामर्शको आवश्यकता थप उजागर गरेको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १० : ०० बजे