काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले जुलाईको पहिलो साता नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेको खुलासा भएको छ । उक्त भेटलाई प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री कार्यालय तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्रोतहरू उल्लेख गर्दै सञ्चार माध्यममा आएको समाचार अनुसार बेन रोशन खड्कासहित दिल्ली पुगेका थिए । भ्रमणका क्रममा उनले डोभालसँगै भारतको विदेश मन्त्रालयका केही उच्च अधिकारीसँग पनि भेटवार्ता गरेका थिए ।
परराष्ट्रमन्त्री शिशिर खनाल र रास्वपा सभापति रवि लामिछानेले यसअघि नै भारत भ्रमणका क्रममा नेपालको नयाँ सरकारका प्राथमिकताबारे जानकारी गराइसकेकाले बेनको दिल्ली भ्रमण मुख्यतः प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणको तयारीमा केन्द्रित थियो ।
प्रधानमन्त्री कार्यालय सम्बद्ध एक अधिकारीका अनुसार भेटमा प्रधानमन्त्री शाह नेतृत्वको सरकारको छिमेक नीति, द्विपक्षीय सम्बन्धका प्राथमिकता तथा भारत भ्रमणका सम्भावित एजेन्डाबारे छलफल भएको थियो । भ्रमणको मिति भने तय नभए पनि आवश्यक तयारी अघि बढाउने समझदारी भएको बताइएको छ ।
एक अधिकारीका अनुसार डोभालले प्रधानमन्त्री शाहको भारत भ्रमण सकेसम्म छिटो गराउनुपर्ने धारणा राखेका थिए । युवा प्रधानमन्त्रीको प्रारम्भिक भ्रमणले द्विपक्षीय सम्बन्धमा सकारात्मक सन्देश जाने विश्वास भारतीय पक्षको रहेको स्रोतले जनाएको छ ।
दिल्ली भ्रमणका क्रममा बेनले भारतका विदेश मन्त्रालयका अधिकारी तथा अन्य सरकारी प्रतिनिधिसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको बताइएको छ । भारतको नेपाल नीति निर्माणमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई प्रभावशाली व्यक्तिका रूपमा हेरिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र डोभाल विदेशमन्त्री एस. जयशंकर र विदेश सचिव विक्रम मिश्रीसँगै नेपालसम्बन्धी उच्चस्तरीय छलफलमा सहभागी हुने गरेका छन् । यसअघि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमण गर्दा पनि डोभालसँग अलग-अलग भेटवार्ता गरेका थिए ।
यसअघि प्रधानमन्त्री शाहले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तव तथा नेपाल भ्रमणमा आउने तयारीमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेटका लागि समय नदिएको विषयलाई लिएर काठमाडौं–दिल्ली सम्बन्धमा केही चिसोपना आएको चर्चा भएको थियो । त्यसपछि सभापति लामिछाने र परराष्ट्रमन्त्री खनालको भारत भ्रमण भए पनि प्रधानमन्त्री शाहको भ्रमण अनिश्चित बनेको थियो ।
यही पृष्ठभूमिमा प्रधानमन्त्री शाहले आफ्ना प्रमुख सल्लाहकारलाई दिल्ली पठाएर भारतसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिन खोजेको स्रोतहरूको विश्लेषण छ । दिल्लीबाट फर्किएपछि बेनले प्रधानमन्त्री शाह र सभापति लामिछानेलाई त्यहाँ भएका छलफलबारे विस्तृत जानकारी गराएको बताइएको छ ।








