धनगढी । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी आमरण अनसन बस्न बुधबार साँझ धनगढी पुगेका छन् । सरकारले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै उनले साउन ७ गतेदेखि पुनः सत्याग्रह (आमरण अनसन) सुरु गर्ने घोषणा गरेका हुन् ।
दार्चुलाबाट धनगढी आएका डा. केसी एलएनचोकस्थित कृष्ण मन्दिरको धर्मशालामा बसेका छन् । उनले सरकारले आफूले अघि सारेका मागप्रति कुनै ठोस पहल नगरेकाले अनसन सुरु गर्न बाध्य भएको बताएका छन् ।
डा. केसीका तर्फबाट विजयबाबु शिवाकोटीले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले मागहरूलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाइएको छ । डा. केसीले आफ्ना पाँचबुँदे माग पूरा गर्न साउन ५ गतेसम्म सरकारलाई समयसीमा दिएका थिए ।
प्रेस विज्ञप्तिमा डा. केसीले भनेका छन्, “जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको सुधारका लागि सरकारको यो संवेदनहीनताका कारण म साउन ७, २०८३ देखि पुनः सत्याग्रह सुरु गर्दै छु । यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ ।”
डा. केसीले अघि सारेका पाँच प्रमुख मागमध्ये पहिलोमा दशरथचन्द मेडिकल विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा गरिएको स्वार्थ बाझिने र गैरकानुनी नियुक्ति तत्काल खारेज गरी ऐनका विवादित प्रावधान संशोधन गर्नुपर्ने उल्लेख छ ।
यस्तै, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा पर्याप्त मापदण्ड र पूर्वाधारबिनै निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय फिर्ता लिन उनले माग गरेका छन् ।
उनको अर्को माग राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्नुका साथै विगतमा सरकारसँग भएका सहमतिहरू कार्यान्वयन गर्नुपर्ने रहेको छ ।
सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक पूर्वाधार र सेवा विस्तार गर्नुपर्ने माग पनि उनले गरेका छन् ।
त्यसैगरी, २०८२ साल भदौ २३ र २४ गते भएका हत्या, आगजनी, लुटपाट र तोडफोडका घटनाका दोषीलाई कडा कारबाही गर्न तथा २०४६ सालयता उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीमाथि लागेका भ्रष्टाचार र अन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने माग पनि डा. केसीले अघि सारेका छन् ।








