१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

सुनसरी घटनापछि तराई–मधेशमा सुरक्षा सतर्कता कडा, तीन जिल्लामा कर्फ्यु र वीरगन्जमा निषेधाज्ञा



सुनसरीको देवानगञ्जमा भएको घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन चर्किएसँगै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। बिहीबार सुनसरी, धनुषा र सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने पर्साको वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा शुक्रबार बिहानसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।

सिरहामा गोलबजार र लहान क्षेत्रमा तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। गोलबजार नगरपालिकाको कसहा खोलादेखि चोहर्वा चोकसम्म तथा सैनिक चोकदेखि क्याम्पस क्षेत्रसम्म कर्फ्यु लागू गरिएको छ। त्यसैगरी लहान नगरपालिकामा बलान खोलादेखि सरस्वती खोला, खुट्टी खोला र पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा अपराह्न ४ बजेदेखि कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन्।

कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत, भेला, प्रदर्शन, सभा, बैठक तथा नाराबाजी पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। गोलबजार क्षेत्रमा स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ भने प्रहरीले २० राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको जनाएको छ।

धनुषामा जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको छ। सुनसरी घटनाको विरोधमा जनकपुर र आसपासका क्षेत्रमा प्रदर्शन उग्र बनेपछि प्रशासनले यस्तो निर्णय गरेको हो। कर्फ्युको दायरा जनकपुर, लक्ष्मीनिया र नगराइनका प्रमुख सडक तथा संवेदनशील क्षेत्रहरूमा विस्तार गरिएको छ।

यता सुनसरीका १० स्थानीय तहमा मंगलबार रातिदेखि जारी कर्फ्यु बिहीबार पनि निरन्तर कायम राखिएको छ। प्रशासनका अनुसार सुरक्षा अवस्था क्रमशः सहज बन्दै गए पनि घटनामा ज्यान गुमाएकाका परिवारसँग सहमति हुन नसकेकाले कर्फ्यु हटाइएको छैन। मृतकका परिवारले सहिद घोषणा, उचित क्षतिपूर्ति तथा दोषीमाथि कारबाहीको सुनिश्चिततापछि मात्र शव बुझ्ने अडान कायम राखेका छन्। प्रशासन र पीडित पक्षबीच थप छलफल जारी रहेको जनाइएको छ।

पर्सा जिल्ला प्रशासन कार्यालयले सम्भावित तनावलाई मध्यनजर गर्दै वीरगन्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रमा शुक्रबार बिहानसम्म निषेधाज्ञा जारी गरेको छ। प्रशासनले शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न नागरिकलाई संयम अपनाउन आग्रह गरेको छ।

यसैबीच नेपाल प्रहरीले देशभरका आफ्ना कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले किरिया र प्रसूति बाहेकका बिदा तत्कालका लागि स्थगित गर्ने सर्कुलर जारी गरेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले सुरक्षा चुनौती देखिएका क्षेत्रमा पर्याप्त प्रहरी परिचालन गरिएको र भिड नियन्त्रणमा अश्रुग्यास तथा लाठीचार्जको सीमित प्रयोगसँगै समुदायका अगुवा, जनप्रतिनिधि र स्थानीयसँग संवादलाई प्राथमिकता दिइएको बताएका छन्।

सप्तरीमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले धार्मिक सद्भाव, शान्ति र सामाजिक एकता कायम राख्न सबै पक्षले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ। बैठकले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति र स्थानीय तहमा सद्भाव र्‍याली आयोजना गर्ने निर्णय पनि गरेको छ।

बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धर्म, संस्कृति वा समुदायलाई लक्षित घृणायुक्त अभिव्यक्ति दिने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि रोक्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालय, क्याम्पस, शिक्षक, अभिभावक र स्थानीय समुदायले बालबालिकालाई आन्दोलनमा प्रयोग हुन नदिन र बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक नेपाली समाजको सहिष्णु परम्परा जोगाउन संयुक्त रूपमा पहल गर्ने निर्णय पनि गरिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ११ : ०३ बजे