१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

धनुषामा कर्फ्यु कार्यान्वयनका लागि सेनालाई आवश्यक परे गोली चलाउने आदेश



सुनसरीको कप्तानगन्जमा भएको घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा तनाव बढ्दै गएपछि धनुषा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाली सेना परिचालनका लागि औपचारिक पत्राचार गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद लुइँटेलले बिहीबार महेन्द्रनगरस्थित नेपाली सेनाको विष्णुदल गणलाई पत्र पठाउँदै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१)(क)(२) बमोजिम सेना परिचालन गर्न अनुरोध गरेका हुन्।

पत्रमा धनुषाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश कार्यान्वयनका लागि नेपाली सेनाको आवश्यकता परेको उल्लेख गरिएको छ। साथै, शान्ति–सुरक्षा कायम राख्ने क्रममा आवश्यक परे न्यूनतम सैनिक शक्ति प्रयोग गर्दै गोली चलाउन सक्ने अधिकारसमेत प्रत्यायोजन गरिएको जनाइएको छ।

पत्रमा भनिएको छ, “शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा राख्नका लागि आवश्यकता अनुसार नेपाली सेनालाई न्यूनतम सैनिक शक्तिको प्रयोग गर्दै गोली हान्नेसम्मको अधिकार प्रत्यायोजन गर्दछु।”

सीडीओ लुइँटेलले भने यो स्थानीय प्रशासन ऐनअनुसार अपनाइने नियमित कानुनी प्रक्रिया भएको स्पष्ट पारेका छन्। उनका अनुसार कर्फ्यु लागू भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहित सबै सुरक्षा निकाय परिचालन गरिन्छन्। उनले प्रारम्भिक रूपमा न्यूनतम बल प्रयोग गर्ने अधिकार मात्र दिइएको र आवश्यकता परे कमान्ड पोस्टको बैठकबाट थप निर्णय गरिने बताए।

साउन ९ गते सुनसरीको कप्तानगन्ज बजारमा दुई समूहबीच भएको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा एक युवकको मृत्यु भएको थियो। त्यसयता विवाद तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको छ।

बिहीबार सिरहा र धनुषाका विभिन्न स्थानमा पनि प्रदर्शन र झडप भएका छन्। सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। सुनसरी घटनापछि उत्पन्न तनावका क्रममा बिहीबार साँझसम्म तीन जनाको ज्यान गएको जनाइएको छ।

बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुनसरी, सिरहा, धनुषालगायत विभिन्न जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको छ भने केही संवेदनशील क्षेत्रमा नेपाली सेनासमेत परिचालन गरिएको छ। प्रशासनले नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ११ : ०९ बजे