१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

बिजुलीमा भ्याट छुटको सीमा १५० युनिटसम्म बढाउने तयारी



काठमाडौं । ५० युनिटभन्दा माथिको विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयको चौतर्फी विरोध भएपछि घरेलु विद्युत् उपभोक्तालाई दिइने भ्याट छुटको सीमा १५० युनिटसम्म बढाउने तयारी थालिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाल कायम ५० युनिटको सीमालाई बढाएर १०० वा १५० युनिट पुर्‍याउनेबारे आन्तरिक तयारी थालेको हो । यसका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत सरकारलाई प्राप्त हुने भ्याट राजस्वमा पर्ने प्रभावको लेखाजोखा तयार गरिएको छ ।

प्राधिकरण स्रोतका अनुसार हाल ५० युनिटसम्मका घरेलु ग्राहकलाई भ्याट छुट दिँदा सरकारले वार्षिक करिब १२ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ भ्याट संकलन गर्न सक्ने देखिएको छ ।

तर, भ्याट छुटको सीमा १०० युनिट पुर्‍याए वार्षिक भ्याट संकलन घटेर ११ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ मा सीमित हुनेछ। हालको व्यवस्थाको तुलनामा यसबाट सरकारको राजस्व करिब ६१ करोड रुपैयाँले घट्नेछ ।

त्यस्तै, छुटको सीमा १५० युनिट पुर्‍याए सरकारले वार्षिक करिब १० अर्ब २२ करोड ३९ लाख रुपैयाँ भ्याट संकलन गर्ने प्राधिकरणको आकलन छ। यो हालको व्यवस्थाको तुलनामा करिब २ अर्ब २० करोड रुपैयाँ कम हो ।

१५० युनिटसम्म छुट दिँदा ४६ लाख ग्राहक लाभान्वित

नेपालमा हाल घरेलु विद्युत् ग्राहकको संख्या ५३ लाख ८ हजार ५६१ पुगेको छ। चालू आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार ५० युनिटसम्म भ्याट छुटको व्यवस्थाबाट ३४ लाख ५४ हजार १०२ ग्राहक लाभान्वित छन् भने १८ लाख ५४ हजार ४५९ ग्राहक भ्याटको दायरामा छन् ।

यदि छुटको सीमा १०० युनिट पुर्‍याइयो भने भ्याट तिर्नुपर्ने घरेलु ग्राहकको संख्या घटेर ९ लाख ९२ हजार ७०८ मा पुग्नेछ। भ्याट छुट पाउने ग्राहकको संख्या भने ४३ लाख १५ हजार ८५३ पुग्नेछ ।

त्यस्तै, १५० युनिटसम्म भ्याट छुट दिने व्यवस्था लागू भए ४६ लाख ९२ हजार २७९ ग्राहक भ्याटमुक्त हुनेछन्। त्यसपछि ६ लाख १६ हजार २८२ ग्राहक मात्रै भ्याटको दायरामा पर्नेछन् ।

प्राधिकरणको तथ्यांकअनुसार हाल ५० युनिटसम्म छुट पाउने ३४ लाखभन्दा बढी ग्राहकले कुल ९ करोड १३ लाख ८० हजार ५९५ युनिट विद्युत् खपत गरिरहेका छन्। १०० युनिटसम्म छुट दिँदा छुट पाउने ग्राहकले खपत गर्ने विद्युत् १२ करोड ४२ लाख ५१ हजार ४०७ युनिट पुग्नेछ ।

१५० युनिटसम्म छुट दिँदा भने भ्याटमुक्त ग्राहकले १७ करोड ५ लाख ४० हजार ७८९ युनिट विद्युत् खपत गर्ने प्राधिकरणको आकलन छ ।

१२ लाखभन्दा बढी ग्राहक भ्याटको दायराबाट बाहिरिने

हाल ५० युनिटको सीमाअनुसार १८ लाख ५४ हजार ४५९ घरेलु ग्राहक भ्याटको दायरामा छन्। १५० युनिटसम्म छुट दिँदा यो संख्या घटेर ६ लाख १६ हजार २८२ मा सीमित हुनेछ ।

यसअनुसार करिब १२ लाख ३८ हजार घरेलु विद्युत् ग्राहक भ्याटको दायराबाट बाहिरिनेछन् ।

प्राधिकरणले तयार गरेको यो विवरण ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयमा समेत पठाइसकेको छ। सरकारले भ्याटबाट उठाउने राजस्व केही घट्ने भए पनि ठूलो संख्यामा घरेलु उपभोक्ताले राहत पाउने भएकाले छुटको सीमा बढाउनेबारे छलफल अघि बढाइएको हो।

गैरघरेलु ग्राहकको भ्याट नचलाउने प्रस्ताव

ऊर्जा मन्त्रालयले घरेलु ग्राहकबाहेकका थ्री फेज, डिमान्ड र टाइम अफ डे (टीओडी) प्रणालीबाट संकलन हुने १३ प्रतिशत भ्याटको व्यवस्थालाई भने यथावत् राख्नु उपयुक्त हुने विश्लेषण गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय पूर्वाधार विस्तारका लागि आवश्यक स्रोत जुटाउन बिजुलीमा भ्याट लगाउने घोषणा गरेका थिए। तर, उक्त निर्णयको चौतर्फी विरोध भएपछि ऊर्जा मन्त्रालयले उपभोक्तालाई राहत दिने विकल्प अघि सारेको हो।

महसुल घटाउने तयारी पनि

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल घटाउने विषयमा समेत प्रक्रिया अघि बढाएका छन्। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले सञ्चालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा विद्युत् महसुल पुनरवलोकन समिति गठन गरिसकेको छ।

ऊर्जा मन्त्रालयले एकातर्फ विद्युत् महसुल घटाएर खपत बढाउने र अर्कोतर्फ भ्याट छुटको सीमा विस्तार गर्ने रणनीति अघि सारेको हो।

विशेषगरी बर्खायाममा विद्युत् उत्पादन बढेर बिजुली खेर जाने अवस्था रहेकाले घरेलु तथा औद्योगिक क्षेत्रमा विद्युत् खपत बढाउने सरकारको रणनीति छ।

‘एकातर्फ बिजुली खपत बढाउनुपर्नेछ। अझ बढी बिजुली खपत गर भनेर प्रोत्साहन गर्नुपर्नेमा ५० युनिटसम्मका ग्राहकलाई भ्याट लगाउँदा असर पुग्ने आकलनसहित त्यसको सीमा बढाउनेदेखि महसुलमा सहुलियत दिने तयारी थालिएको छ,’ ऊर्जा मन्त्रालयका एक कर्मचारीले बताएका छन्।

उनका अनुसार यस विषयमा ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयसँग आवश्यक समन्वय र छलफलसमेत अघि बढाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १० : २९ बजे