१ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026

सामान्य थकानमा मन्त्री लम्साललाई सेनाको हेलिकप्टर र स्काइट्रक, अस्पताल भर्ना नभई घर फर्किए



काठमाडौं । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सामान्य स्वास्थ्य समस्याका कारण दार्चुलाबाट बैतडी हुँदै नेपाली सेनाको हेलिकप्टर र स्काइट्रक प्रयोग गरेर काठमाडौं फर्किएको पाइएको छ ।

लामो समयदेखि देश दौडाहामा रहेका मन्त्री लम्साल साउन ३० गते आफैं गाडी चलाएर दार्चुलाबाट बैतडी पुगेका थिए। उनको स्वागतका लागि बैतडीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता उपस्थित भए पनि उनी स्वागत–सत्कारमा सहभागी नभई आराम गर्न कोठातिर लागेका थिए।

बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालका अनुसार साउन ३१ गते जिल्लामा सञ्चालन भइरहेका आयोजनाको अवस्था र समग्र वस्तुस्थितिबारे मन्त्रीलाई ब्रिफिङ गर्ने कार्यक्रम थियो। तर लम्सालले आफू बिरामी भएको बताएपछि सचिवालय सदस्यहरूको नेतृत्वमा बैठक सञ्चालन गर्न निर्देशन दिएका थिए।

लम्साललाई शरीर दुख्ने र अत्यधिक थकान महसुस भएपछि तत्काल काठमाडौं फर्किने निर्णय गरिएको उनको सचिवालयसँग सम्बन्धित व्यक्तिहरूले बताएका छन्। उनी सिकिस्त बिरामी भएको खबर भने त्यसदिन अपराह्न सञ्चारमाध्यममा सार्वजनिक भएको थियो।

प्रजिअ अर्यालका अनुसार मन्त्री लम्साल बैतडी पुगेकै राति चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो। ‘मन्त्रीजी साँझ आउँदा नै एकदमै थाकेको देखिनुभएको थियो। अलिक बिरामी नै भएको जानकारी आएपछि हाम्रै अगाडि डाक्टर बोलाएर जाँच्न लगाइयो,’ उनले भनेकी छन्।

मन्त्री लम्सालसँग भ्रमणमा रहेका एक सदस्यका अनुसार लामो समयसम्म गाडी चलाउँदा र लामो यात्राका क्रममा खानपिनमा भएको अनियमितताका कारण उनी थकित भएका थिए। शरीर दुखेपछि पछि ज्वरो आउन सक्ने आशंकामा भ्रमण छोट्याएर काठमाडौं फर्किने निर्णय गरिएको ती सदस्यले बताएका छन्।

उनका अनुसार एक रात बैतडीमै आराम गरेर भोलिपल्ट काठमाडौं फर्किन सकिने अवस्था भए पनि मन्त्रीले तत्कालै काठमाडौं जाने इच्छा व्यक्त गरेपछि सेनासँग समन्वय गरिएको थियो।

सैनिक अस्पताल पुगे, भर्ना भएनन्

बैतडीबाट सेनाको हेलिकप्टरमार्फत धनगढी पुगेका मन्त्री लम्साल त्यहाँबाट नेपाली सेनाको स्काइट्रक चढेर काठमाडौं आएका थिए। काठमाडौं आएपछि उनी सेनाको रोहवरमा छाउनीस्थित सैनिक अस्पताल पुगे पनि अस्पतालमा भर्ना नभई आफ्नै निवास फर्किएको बताइएको छ।

उनको सचिवालयका अनुसार चिकित्सकले पाँच दिनका लागि सामान्य औषधि दिएका छन् र अहिले उनी त्यही औषधि सेवन गरिरहेका छन्।

तर मन्त्रीका सचिवालय सदस्य इन्जिनियर दिनेश रावतले भने लम्साल गम्भीर स्वास्थ्य समस्याका कारण सेनाको सहयोगमा काठमाडौं फर्किएको दाबी गरेका छन्। उनका अनुसार लामो यात्रा र थकानका कारण मन्त्रीलाई पखाला, उच्च ज्वरो र लगातार बान्ता भएको थियो।

यद्यपि गम्भीर बिरामी भए बैतडी वा धनगढीमै तत्काल अस्पताल भर्ना नगरिएको तथा काठमाडौं आएपछि पनि अस्पतालमा भर्ना नभएको विषयमा प्रश्न उठेको छ। रावतले मन्त्री आफैंले काठमाडौं फर्किन चाहेको बताएका छन्। काठमाडौं आएपछि अस्पतालमा भर्ना नभएको विषयमा भने आफूलाई जानकारी नभएको उनको भनाइ छ।

मन्त्रीका स्वकीय सचिव प्रतीक श्रेष्ठले भने सुरुमा गाडीमै काठमाडौं फर्किने योजना भए पनि अत्यधिक थकानका कारण लामो दूरी गाडी चलाउन सक्ने अवस्था नरहेकाले सेनाको हेलिकप्टर र स्काइट्रक प्रयोग गरिएको बताएका छन्।

‘गाडीमा आउँदा हुन्थ्यो तर पहिल्यै थाकिसकेको र फेरि लामो बाटो गुडाउनुपर्ने भएकाले मात्र हो,’ श्रेष्ठले भनेका छन्। उनका अनुसार अहिले मन्त्री लम्सालको अवस्था सामान्य छ र केही समय आराम आवश्यक छ।

सेनाको स्रोत साधन प्रयोगबारे प्रश्न

मन्त्री लम्सालको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि उनलाई सेनाको हेलिकप्टर र स्काइट्रकमार्फत काठमाडौं ल्याइएको विषयमा प्रश्न उठेको छ। मन्त्रीकै एक निकटस्थले बैतडी र धनगढीमा सुविधासम्पन्न अस्पताल हुँदाहुँदै सामान्य स्वास्थ्य समस्याका लागि सेनाको स्रोतसाधन प्रयोग गर्नु उपयुक्त नभएको बताएका छन्।

सामान्य बिरामी अवस्थामा समेत नेपाली सेनाले मन्त्री लम्सालका लागि हेलिकप्टर र स्काइट्रक प्रयोग गरेको विषयमा सेनाको प्रतिक्रिया लिन खोजिए पनि नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भारतीय प्रधानसेनापतिका लागि आयोजित कार्यक्रममा व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन सकेनन्।

मन्त्री लम्साल सेनाको स्काइट्रकबाट काठमाडौं फर्किएर घरमै आराम गरिरहेको विषयले प्रतिनिधि सभामा समेत चर्चा पाएको छ। सोमबारको बैठकमा केही सांसदले मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा सेनाको स्रोतसाधन प्रयोग गरेर काठमाडौं फर्काइएको विषयमा प्रश्न उठाएका छन्।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  १० : १० बजे