काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने नीति लिएको छ । काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णय गरेसँगै कांग्रेसको संस्थापन इतर समूहको धार्मिक नीतिमा परिवर्तन आएको हो ।
सम्मेलनबाट पारित निर्णयको तेस्रो बुँदामा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ ।
निर्णयमा भनिएको छ, ‘नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गर्दै सनातनदेखि चलिआएका हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ।’
राष्ट्रिय सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमै रहेको व्यवस्थाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने निर्णयसमेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले संविधान संशोधनको बहस अघि बढाइरहेका बेला कांग्रेसको देउवा समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने नीति अघि सारेको हो।
‘हिन्दु राष्ट्रकै पक्षमा उभिएका हौँ’
सम्मेलनका प्रस्ताव तथा प्रतिनिधिबाट प्राप्त सुझावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्न नेता एनपी साउदको नेतृत्वमा समिति गठन गरिएको छ। साउदका अनुसार अन्तिम दस्तावेजमा धार्मिक स्वतन्त्रताको विषय अझ स्पष्ट पारिनेछ।
‘सनातन हिन्दु, बौद्ध, किरातसहित सबै प्राकृतिक धर्म नेपालमा सनातनदेखि चलिआएका धर्म हुन्। राज्यले यी धर्मको संरक्षण र सम्वर्द्धन गर्नुपर्छ,’ साउदले भने, ‘अन्य धर्मलाई पनि धार्मिक स्वतन्त्रता प्रदान गर्दै नेपालले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउनुपर्छ भन्ने हो।’
यो निर्णयलाई कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिएको रूपमा बुझ्न सकिने उनको भनाइ छ।
धर्मनिरपेक्षताको विषयमा समेत साउदले स्पष्ट धारणा राखेका छन्। उनका अनुसार देउवा समूह अब धर्मनिरपेक्षताको अघिल्लो नीतिबाट अघि बढेर सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने पक्षमा पुगेको छ।
‘धर्म निरपेक्षता भनेको सबै धर्मसँग सह–निरपेक्ष बस्ने कुरा हो। धर्मप्रतिको प्रतिबद्धताविहीनता पनि हो। यो मूलतः कम्युनिस्ट टर्मिनोलोजी हो। हामीले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अगाडि बढाउन चाहेका छौँ,’ साउदले भने।
उनका अनुसार सम्मेलनमा लामो बहस र छलफलपछि यस विषयमा नयाँ सहमति बनेको हो।
‘पहिलोको भन्दा यो महत्वपूर्ण पाइला हो। पहिलो (धर्मनिरपेक्षता) बारे फरक पोजिसन हो भन्नेमा विवाद भएन। सम्मेलनमा घनिभूत बहस र छलफलपछि केही सहमति र विमतिका बीचमा यो निर्णयमा पुग्यौँ,’ उनले भने।
महत : देउवाकै सहमतिमा निर्णय
कांग्रेस नेता डा. प्रकाशशरण महतले पनि सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय पार्टी सभापति शेरबहादुर देउवाकै सहमतिमा भएको बताएका छन्।
‘राष्ट्रिय पहिचानका रूपमा सनातन धर्म हुनुपर्छ भन्ने पक्षमा छु। अब सभापति (शेरबहादुर देउवा)जी पनि त्यसैमा हुनुहुन्थ्यो, अनि साथीहरू पनि हुनुहुन्थ्यो। प्रतिनिधिहरू पनि हुनुहुन्थ्यो, देखिहाल्नुभयो। सबैको सहमतिमा नयाँ कदम चालिएको हो,’ महतले भने।
उनका अनुसार हिन्दु, बौद्ध, किरात तथा प्राकृत धर्मको संरक्षण गर्दै मुस्लिम, क्रिस्चियनलगायत सबै धार्मिक समुदायको धार्मिक अधिकार सुनिश्चित गर्ने नीति कांग्रेसले लिएको हो।
‘धर्मनिरपेक्षता भन्ने मात्रै हाइलाइट हुँदा पहिला त्यसमा कन्फ्युजन थियो। अहिले संविधानमै भएको कुरालाई संरक्षण गर्ने कुरा छ,’ महतले भने, ‘अब पहिचानको रूपमा सनातन धर्मलाई अगाडि बढाउने, पार्टीको प्लाटफर्ममै यो कुरा छानियो। नयाँ कदम हो।’
महतले संविधानमा धर्मनिरपेक्षता र सनातन धर्मको संरक्षणसम्बन्धी व्यवस्था रहेकाले त्यसमा विरोधाभास देखिएको दाबीसमेत गरे। अब पार्टी सनातन धर्मको संरक्षणलाई राष्ट्रिय पहिचानसँग जोडेर अघि बढ्ने उनको भनाइ छ।
देउवा : ‘म हिन्दु हुँ’
राष्ट्रिय सम्मेलनको समापन सत्रमा पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको र धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए।
‘मेरो व्रतबन्ध र विवाह पनि हिन्दु परम्पराअनुसार भएको हो। म मन्दिर जान्छु। पशुपतिनाथको पूजा गर्छु। मलाई पशुपति जाने मन छ। त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’ देउवाले भनेका थिए।
तर आफू हिन्दु भएको बताउनुको अर्थ अन्य धर्ममाथि प्रतिबन्ध लगाउनुपर्छ भन्ने नभएको उनले स्पष्ट पारे।
‘मैले हिन्दु धर्म मान्छु भन्दै गर्दा मुस्लिम वा इसाई धर्म मान्न पाइन्न भनेको छैन। सबै धर्म मान्नेहरूलाई मैले अहिलेसम्म सम्मान गरेको छु र गरिरहनेछु। मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्नेमा म विश्वास राख्छु,’ देउवाले भने।
उनले आफू सानैदेखि हिन्दु संस्कारमा हुर्किएको र व्यक्तिगत रूपमा त्यसलाई पालना गर्दै आएको पनि बताए। आफ्नो धर्म रोज्ने अधिकार प्रत्येक व्यक्तिलाई रहेको भन्दै देउवाले आफू पनि त्यसबाट स्वतन्त्र रहेको बताएका थिए।
अघिल्लो नीतिभन्दा फरक
देउवा नेतृत्वमा रहँदा कांग्रेसले यसअघि धर्मनिरपेक्षतासहित धार्मिक स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो। २०७५ पुसमा सम्पन्न महासमिति बैठकले कांग्रेस धार्मिक स्वतन्त्रता, एकअर्काको धर्मप्रति सम्मान, धार्मिक सहिष्णुता र समभावमा विश्वास गर्ने निर्णय गरेको थियो।
त्यस बैठकमा महासमिति सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरी दबाब सिर्जना गरे पनि पार्टीले त्यसलाई स्वीकार गरेको थिएन। कांग्रेसले संविधानमा रहेको धार्मिक स्वतन्त्रता र धर्म परिवर्तन तथा अर्को धर्ममा खलल पार्ने कार्यसम्बन्धी व्यवस्थाको कार्यान्वयनमा जोड दिएको थियो।
त्यस्तै, २०८० फागुन ७ देखि १० गतेसम्म सम्पन्न महासमिति बैठकले पनि संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा संविधानको सार्थक कार्यान्वयनलाई राष्ट्रिय दायित्वका रूपमा अघि सारेको थियो। महासमिति बैठकमा बहुमत प्रतिनिधिले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेर प्रस्ताव प्रस्तुत गरे पनि कांग्रेस औपचारिक रूपमा त्यसको पक्षमा उभिएको थिएन।
तर गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेस पुगेपछि पार्टीभित्र कमजोर राजनीतिक अवस्थामा पुगेको देउवा समूहले अहिले धार्मिक नीतिमा परिवर्तनको संकेत दिएको छ।
साढे पाँच महिनाको सिंगापुर–हङकङ बसाइपछि साउन २८ गते नेपाल फर्किएका देउवाले त्यसको भोलिपल्टदेखि सुरु भएको राष्ट्रिय सम्मेलनमा आफ्नो समूहको नयाँ राजनीतिक तथा वैचारिक धारलाई अघि सारेका हुन्।
कांग्रेसको संस्थापन इतर समूहले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय गरेसँगै यो विषय अब पार्टीको औपचारिक राजनीतिक दस्तावेजमा कसरी समेटिन्छ र आगामी दिनमा संविधान संशोधन तथा हिन्दु राष्ट्रको बहसमा कांग्रेसको भूमिका कस्तो हुन्छ भन्ने विषय चासोको बनेको छ।









