२१ फागुनको निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वबाट पछि नहट्ने स्पष्ट सन्देश दिएका छन्। बिर्तामोडमा आइतबार एमाले झापाले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले पार्टी पुनर्गठनको मागसहित अभियान चलाउनेहरूमाथि कारबाही गर्ने चेतावनीसमेत दिएका हुन्।
पार्टी अध्यक्ष हटाउन सामाजिक सञ्जालमा अभियान चलाउने वा हस्ताक्षर संकलन गर्ने शैली स्वीकार्य नहुने ओलीको भनाइ थियो।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भने।
करिब एक घण्टा लामो सम्बोधनमा ओलीले आफ्नो राजनीतिक यात्राका विभिन्न प्रसंग उल्लेख गर्दै यसअघि पनि आफूलाई नेतृत्वबाट हटाउने प्रयास असफल भएको स्मरण गराए। २०२९ सालमा सीपी मैनाली र आरके मैनालीलगायतबाट कारबाहीमा परेको तथा २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षबाट कारबाही गरिएको प्रसंग सुनाउँदै उनले अहिलेको अभियान पनि सफल नहुने संकेत गरे।
‘एमालेको पुनर्गठन हुँदैन’
पार्टी पुनर्गठनको बहस नै आवश्यक नरहेको ओलीको दाबी थियो।
‘अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन। कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन,’ उनले भने, ‘कुनै कमिटीको होला। त्यस्तो व्यापक रूपमा भइरहन्छ। अधिवेशनहरू गरिरहन्छौं, पुनर्गठन हुँदैन।’
ओलीले शनिबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा पनि आफूलाई अध्यक्षबाट हटाउने विषयलाई सामान्य रूपमा नलिन चेतावनी दिएका थिए।
‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ। अध्यक्ष हटाउने ? कहिले हो हटाउने,’ उनले भनेका थिए।
च्यासलस्थित पार्टी कार्यालयमा बसेर पुनर्गठनको बहस गर्नेहरूलाई ओलीले ‘आवारा’ भनेपछि एमालेभित्रै तीव्र प्रतिक्रिया देखिएको छ। ओलीको अभिव्यक्तिको प्रतिवाद गर्दै देशका विभिन्न ठाउँमा नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा ‘म आवारा’ अभियानसमेत चलाउन थालेका छन्।
महेश बस्नेतको ‘लामखुट्टे’ टिप्पणी
ओलीको अभिव्यक्तिको प्रतिवाद भएपछि ओलीनिकट नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत पुनर्गठन पक्षधरप्रति थप आक्रामक टिप्पणी गरेका छन्।
उनले पार्टी नेतृत्वको विरोध गर्ने समूहलाई ‘कुनाकाप्चाका लामखुट्टे’को संज्ञा दिएका छन्।
बस्नेतले लेखेका छन्, ‘सानो घेराको पंक्ति जो गुटबन्दी गर्ने, खुराफाती गर्ने, पार्टी र नेतृत्वको विरोध गर्ने, पार्टी कार्यालयको चौरको घाँस माड्ने अनि क्यान्टिनको चियाको कपमा क्रान्तिको आँधीबेहोरी सिर्जना गर्ने… हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरू कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ।’
‘एमालेबाट खाएर अघाएकाहरू अहिले किर्ना भए’
फिक्कलबाट बिर्तामोड पुगेका ओलीले पुनर्गठन पक्षधरमाथि अर्को कडा टिप्पणी गरे। एमालेबाट लाभ लिएका तर निर्वाचनमा पार्टीलाई मत नदिएका व्यक्तिहरू अहिले पुनर्गठनका नाममा सक्रिय भएको उनको आरोप थियो।
‘एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले। पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन्। बरु केही नपाएकाले यसपटक पनि भोट हाले। केही पाएकाले यसपटक पनि भोट हालेनन्,’ ओलीले भने।
ओलीले पार्टीभित्रैबाट आफूले कार्यकर्तालाई हप्काउने गरेको र त्यसबाट मानिस बेहोस भएर ढलेको जस्ता आरोप लगाइएको भन्दै त्यसको पनि खण्डन गरे। आफूले जीवनमा कहिल्यै कडा शब्द वा स्वर प्रयोग नगरेको उनको दाबी थियो।
‘पार्टी सदस्यभन्दा कम भोट आयो’
पार्टी पुनर्गठन आवश्यक नरहेको तर्क गर्ने क्रममा ओलीले एमालेका सदस्यहरूमाथि समेत प्रश्न उठाए।
‘हाम्रो पार्टीमा सदस्यभन्दा कम भोट आयो। सुन्दा लाज हुन्छ,’ उनले भने, ‘कस्तो सदस्य?’
निर्वाचनमा एमालेका उम्मेदवारलाई मत नदिने पार्टी सदस्यको सदस्यता नवीकरण नगर्नसमेत उनले निर्देशन दिए।
‘सदस्यको नवीकरण गर्नुस्, गैरसदस्यको होइन,’ ओलीले भने।
शेरधन राई पनि पुनर्गठन पक्षधरविरुद्ध
एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पनि पार्टी पुनर्गठनका पक्षमा उठेका आवाजप्रति कडा असन्तुष्टि जनाएका छन्।
पार्टीभित्र सुधारका लागि सुझाव संकलन भइरहेका बेला पुनर्गठनलाई केवल ‘केपी ओली हटाउने मिसन’का रूपमा बुझाउने प्रयास भइरहेको उनको आरोप थियो।
‘यतिबेला पार्टीलाई बहुआयामिक सेक्टरमा सुधार गर्नका निम्ति सुझावहरू संकलन गर्दै गर्दा, कार्यकर्ताहरूको भावना बुझ्दै गर्दा, पुनर्गठन भनेको त केपी ओली हटाउने मिसन मात्रै हो भन्ने स्थिति पनि देखा पर्दैछ,’ राईले भने, ‘यो सबैभन्दा खतरनाक कुरा हो। यस्ता खाले पात्र, प्रवृत्ति र यस प्रकारको मिसनलाई हामीले दुत्कार्नुपर्छ।’
राई एमालेको पुनर्गठनसम्बन्धी कार्यदलका सदस्यसमेत हुन्। कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन भने हालसम्म अघि बढ्न सकेको छैन। कार्यदलको प्रतिवेदन ओलीको अस्थायी निवास गुन्डुमा पुगेपछि थन्किएको बताइएको छ।
कार्यदलका संयोजक रामबहादुर थापासहित केही सदस्य ओलीनिकट रहेकाले प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढ्न नसकेको एमालेभित्रै चर्चा छ।
नेतृत्वको कमजोरी औंल्याएको प्रतिवेदन रोकिएको आरोप
एमाले सचिवालय बैठकले कार्यदलको सुझाव प्रतिवेदनमाथि असारभित्रै छलफल सकेर पार्टी पुनर्गठन अभियान अघि बढाउने निष्कर्ष निकालेको थियो। तर निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारणमध्ये नेतृत्वको कमजोरीसमेत औंल्याइएको प्रतिवेदनप्रति ओली असन्तुष्ट रहेको बताइएको छ।
प्रतिवेदन अघि बढ्न नदिएका ओलीले अहिले गृहजिल्ला झापा पुगेर पार्टी पुनर्गठनको आवश्यकता नै नरहेको दाबी गरेका छन्। उनको पछिल्लो अभिव्यक्तिले एमालेभित्र निर्वाचनपछिको समीक्षा, नेतृत्व परिवर्तन र संगठन पुनर्गठनलाई लिएर बढेको विवाद अझ चर्किने संकेत गरेको छ।
यससँगै एमालेभित्र एकातिर अध्यक्ष ओलीको नेतृत्व निरन्तरता र अर्कोतिर निर्वाचन परिणामको समीक्षा गर्दै संगठन तथा नेतृत्वमा पुनर्गठन गर्नुपर्ने पक्षबीचको संघर्ष थप स्पष्ट रूपमा सतहमा आएको छ।









