१२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026

टिमुरे नाका बन्द भएपछि हिल्सा हुँदै फर्किने विदेशी पर्यटकलाई पदयात्रा शुल्क मिनाहा



काठमाडौं । रसुवाको टिमुरे नाका हुँदै तिब्बत भ्रमणमा गएका विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाका हुँदै नेपाल फर्किँदा लाग्ने निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको छ।

अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै कैलाश मानसरोवर तीर्थयात्राबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकका लागि हिल्सा नाकाबाट आवतजावत गर्दा लाग्ने पदयात्रा दस्तुर एक साताका लागि मिनाहा गरेको जनाएको हो।

विभागका अनुसार भदौ ११ गतेदेखि लागू हुने गरी एक सातासम्म हिल्सा नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई निषेधित क्षेत्रको पदयात्रा दस्तुर नलाग्ने व्यवस्था गरिएको छ।

सामान्य अवस्थामा हुम्लाको हिल्सा नाकाबाट आवतजावत गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्ने भएकाले अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था छ। तर, रसुवाको टिमुरे नाका भएर नेपाल–चीन आवतजावत प्रभावित भएपछि तिब्बतबाट फर्किने यात्रुलाई सहज बनाउन शुल्क मिनाहा गरिएको हो।

भोटेकोशीमा आएको बाढीका कारण टिमुरे नाका भएर हुने आवतजावत बन्द भएपछि तिब्बतबाट नेपाल फर्किने यात्रुका लागि हुम्लाको हिल्सा र सिन्धुपाल्चोकको तातोपानी नाका वैकल्पिक बनेका छन्। तीमध्ये हिल्सा नाका तुलनात्मक रूपमा सहज भएकाले तिब्बतबाट फर्किने विदेशी यात्रुहरूलाई सोही नाका प्रयोग गर्न सहज होस् भनेर विभागले विशेष व्यवस्था गरेको हो।

अध्यागमन विभागका प्रवक्ता शिवप्रसाद लम्सालका अनुसार टिमुरे नाका बन्द भएको असहज परिस्थितिलाई ध्यानमा राखेर हिल्सा नाकाबाट फर्किने यात्रुलाई लक्षित गरी अस्थायी रूपमा शुल्क मिनाहा गरिएको हो।

यसैगरी, हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा पदयात्रा अनुमतिका लागि आवश्यक पर्ने विदेशी नागरिक तथा ट्रेकिङ गाइडको बीमा र ट्रेकिङ गाइडसम्बन्धी व्यवस्थालाई पनि अनिवार्य नगरिएको विभागले जनाएको छ।

विभागले तिब्बतबाट हिल्सा हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिक तथा सम्बन्धित पक्षलाई पदयात्राका क्रममा कुनै समस्या वा कठिनाइ उत्पन्न भएमा विभागसँग सम्पर्क गर्न आग्रह गरेको छ।

टिमुरे नाका बन्द भएपछि विशेषगरी कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किने विदेशी तीर्थयात्रीहरू प्रभावित भएका छन्। हिल्सा नाकाबाट आवतजावत सहज बनाउने पछिल्लो निर्णयले त्यस्ता यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न केही सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  ९ : ०१ बजे