चीनतर्फको ल्हेन्दे खोलाको सिरानमा हिमचट्टान फुटेर खस्दा नदीको बहाव रोकिएर बनेको तालमा पानीको सतह निरन्तर बढिरहेको पाइएको छ । चीनको छोछेन र नेपालतर्फको पुरेपु खोलाको दोभान क्षेत्र लेदोसहितको बाढी र हिमचट्टानका कारण थुनिएपछि त्यहाँ ताल बनेको हो ।
चिनियाँ जलस्रोत मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । शुक्रबारसम्म आइपुग्दा पानीको मात्रा बढेर २५ लाख घनमिटर पुगेको मन्त्रालयले जनाएको छ। अर्थात्, २४ घण्टाको अवधिमा तालमा जम्मा भएको पानी करिब २५ प्रतिशतले बढेको हो ।
एक हजार ओलम्पिक स्विमिङ पुल बराबर पानी
तालमा जम्मा भएको पानीको परिमाण कति ठूलो हो भन्ने बुझाउन चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टले ओलम्पिक आकारको स्विमिङ पुलसँग तुलना गरेको छ ।
पोस्टका अनुसार हाल तालमा जम्मा भएको २५ लाख घनमिटर पानी करिब एक हजार वटा ओलम्पिक आकारका स्विमिङ पुलमा अट्ने पानी बराबर हो ।
चिनियाँ पक्षले ताल भरिँदै गएकाले त्यसबाट तल्लो तटीय क्षेत्रमा जोखिम क्रमशः बढिरहेको जनाएको छ। यसअघि चीनले आगामी तीन दिनमा तालमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमानसमेत गरेको थियो ।
ड्रोन र स्याटेलाइटबाट निगरानी
चिनियाँ अधिकारीहरूले ताल बनेको क्षेत्रको अवस्था ड्रोन तथा स्याटेलाइटमार्फत निरन्तर निगरानी गरिरहेका छन्। सम्भावित बाढीको प्रभाव र जोखिमबारे विज्ञहरूले विभिन्न मोडेलिङसमेत गरेका छन् ।
तर पछिल्लो पटक नेपाललाई उपलब्ध गराइएको जानकारीमा चिनियाँ पक्षले तालको अवस्था अहिले स्थिर रहेको जनाएको छ ।
बुधबार बिहान रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि शुक्रबार पुनः लेदोसहित पानीको बहाव बढेपछि नेपालले चिनियाँ पक्षसँग अवस्थाबारे जानकारी मागेको थियो। त्यस क्रममा चिनियाँ पक्षले तत्कालै ताल फुटेर ठूलो बाढी आउने जोखिम नरहेको जानकारी गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
चिनियाँ पक्षको जानकारी उद्धृत गर्दै स्रोतले भनेको छ, पानीको बहाव बढेको भए पनि नदी थुनिएर बनेको ताल रहेको माथिल्लो क्षेत्र स्थिर देखिएको छ । तल्लो तटीय क्षेत्रमा यसअघि हिमपहिरो अर्थात् बर्फ र चट्टान खसेको भए पनि अहिले तत्काल ताल फुट्ने अवस्था नरहेको चिनियाँ पक्षको भनाइ छ ।
तर तालमा पानीको मात्रा भने बढिरहेको छ । पानीको सतह बढ्दै जाँदा तालको आकार पनि ठूलो भइरहेको र पानी निरन्तर ओभरफ्लो भइरहेको चिनियाँ पक्षले जनाएको छ। यद्यपि ठूलो विस्फोट वा ताल फुट्ने अवस्था नरहेको उसको भनाइ छ ।
चिनियाँ पक्षले थप सूचना प्राप्त भएपछि नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
भोटेकोशीमा पुनः बहाव बढेपछि उद्धार रोकियो
यसैबीच, शुक्रबार भोटेकोशी नदीमा पुनः लेदोसहितको पानीको बहाव बढेको छ । बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२ः३१ बजे सूचना जारी गर्दै भोटेकोशीमा बाढीको बहाव बढिरहेको र बाढी स्याफ्रुबेसीसम्म आइपुगेको जनाएको थियो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै भदौ १० गते भीषण बाढी आएको क्षेत्रमा पुनः लेदोसहितको पानीको बहाव केही बढेको सूचना प्राप्त भएको जनाएको छ ।
भोटेकोशीमा पानीको बहाव बढेपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा सञ्चालन भइरहेको खोज तथा उद्धार कार्यसमेत शुक्रबार दिउँसो केही समयका लागि रोकिएको थियो ।
ल्हेन्दे खोलाको सिरानमा बनेको तालमा पानीको मात्रा निरन्तर बढिरहेको र त्यसको प्रभाव नेपालतर्फको भोटेकोशीमा पर्न सक्ने भएकाले अहिले नदीको माथिल्लो क्षेत्रदेखि तल्लो तटीय क्षेत्रसम्मको अवस्था उच्च निगरानीमा राखिएको छ। ताल तत्काल फुट्ने जोखिम नरहेको चिनियाँ पक्षको जानकारी भए पनि पानीको मात्रा बढ्दै गएकाले जोखिम पूर्ण रूपमा टरेको भने मानिएको छैन ।









