भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ठूलो संख्यामा शव फेला परेपछि अहिले उद्धारसँगै अर्को गम्भीर चुनौती थपिएको छ, पहिचान हुन नसकेका शवको सुरक्षित र सम्मानजनक व्यवस्थापन ।
बाढीले बगाएका शव विभिन्न जिल्लामा भेटिन थालेका छन् । ठूलो संख्यामा शव एकैपटक संकलन हुन थालेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा रहेका शवगृह र चिस्यानयुक्त भण्डारणको क्षमता अपुग भएको छ । अर्कोतर्फ गर्मीका कारण शव कुहिन थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमण तथा वातावरणीय जोखिमसमेत बढेको छ । यस्तो अवस्थामा सरकारले केही शवलाई अस्थायी रूपमा जमिनमुनि गाडेर राख्ने निर्णय गरेको छ ।
सरकारी अधिकारीहरुले शव गाड्ने कार्यलाई ‘अन्तिम संस्कार’ वा ‘बेवारिसे शवको सामूहिक दाहसंस्कार’का रूपमा नबुझ्न भनेका छन् । यो ठूलो विपद्का कारण उत्पन्न भएको अस्थायी संरक्षणको उपाय भएको र मुख्य उद्देश्य भविष्यमा पनि मृतकको पहिचान गर्न सकिने सम्भावना जोगाइराख्नु रहेको बताएका छन् ।
विपद्का बेला एकैपटक ठूलो संख्यामा शव फेला पर्नु असाधारण अवस्था हो । सामान्य अवस्थामा अस्पताल तथा स्वास्थ्य संस्थाका शवगृहले नियमित आवश्यकतालाई धान्ने गरी क्षमता बनाएका हुन्छन् । तर एउटा ठूलो प्राकृतिक विपद्ले केही घण्टा वा केही दिनमै सयौँ शव ल्याइदिँदा त्यही संरचना अपुग हुन्छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालभर सरकारी तथा निजी स्वास्थ्य संस्थामा करिब ६ सय शव राख्न मिल्ने फ्रिजर छन् । तर ती सबै क्षमता एकै ठाउँमा प्रयोग गर्न सम्भव हुँदैन । रसुवा बाढीपछि चितवनदेखि नवलपरासीसम्मका विभिन्न जिल्लामा शव भेटिनुले समस्या अझ जटिल बनाएको छ ।
चितवनमा मात्रै स्वास्थ्य संस्थाहरूमा करिब ५० शव राख्न सक्ने क्षमता रहेको बताइएको छ । तर उपलब्ध क्षमता सीमित हुँदा ठूलो संख्यामा आएका शवलाई लामो समयसम्म सुरक्षित राख्न कठिन भएको छ । त्यसमाथि शवको पहिचान, पोस्टमार्टम, फोटोग्राफी र डीएनए नमुना संकलनजस्ता काम पनि सँगसँगै गर्नुपर्ने अवस्था छ ।
माटोमुनि गाड्नु ‘अन्तिम संस्कार’ होइन
अधिकारीहरुका अनुसार यो ‘टेम्पररी बरिअल’ अर्थात् अस्थायी रुपमा गाड्नुको अर्थ मृतकका सबै विवरण अभिलेख गरेर, फोटो खिचेर, डीएनए नमुना लिएर र पहिचानका अन्य प्रमाण सुरक्षित राख्दै आफन्त नआएसम्म शवलाई जमिनमुनि संरक्षण गर्नु हो ।
यस अर्थमा अहिले अपनाइएको प्रक्रिया शवबाट मुक्ति पाउने उपाय होइन; शवलाई थप क्षति हुन नदिई भविष्यको पहिचानका लागि सुरक्षित राख्ने उपाय हो ।
अस्थायी रूपमा गाडिँदा शवहरूलाई बेनामे वा एउटै खाडलमा थुपारेर राखिँदैन । प्रत्येक शवको छुट्टाछुट्टै विवरण तयार गरिन्छ ।
शव गाड्नुअघि अनुहार, हातमा रहेका ट्याटु, चोटपटक तथा अन्य विशेष शारीरिक चिन्हको फोटो तथा अभिलेख राखिन्छ । शवसँग भेटिएका कपडा र अन्य सामानको विवरण पनि संकलन गरिन्छ । कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार गरिन्छ र प्रत्येक शवलाई छुट्टै युनिक पहिचान नम्बर दिइन्छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, प्रत्येक शवबाट डीएनए नमुना संकलन गरिन्छ । उपलब्ध विवरणअनुसार एक सयभन्दा बढी शवको डीएनए प्रोफाइलिङ पूरा भइसकेको थियो ।
यसले भविष्यमा कुनै परिवारले आफन्त हराएको दाबी गरेमा डीएनए परीक्षणमार्फत पहिचान पुष्टि गर्ने आधार तयार गर्छ ।
जमिनमुनि पनि ‘पहिचानको नम्बर’ हराउँदैन
शव गाडेपछि पहिचान हराउने जोखिम नहोस् भनेर प्रत्येक शवको युनिक पहिचान नम्बर धातुको प्लेटमा उल्लेख गरेर शवसँगै राखिन्छ । त्यही नम्बर उल्लेख गरिएको अर्को प्लेट शव गाडिएको स्थानमा पनि राखिन्छ ।
त्यसका साथै शव गाडिएको स्थानको फोटो तथा भिडियो अभिलेख राखिन्छ । भविष्यमा कुन शव कहाँ गाडिएको हो भनेर सहजै पत्ता लगाउन जीपीएस कोअर्डिनेट र नक्सांकनसमेत तयार गरिन्छ । गाडिएको क्षेत्रलाई सुरक्षित राख्न तारबार वा अन्य माध्यमबाट घेराबन्दी गर्ने व्यवस्था पनि गरिनेछ ।
अर्थात्, शव माटोमुनि पुगेपछि पनि त्यसको ‘पहिचान यात्रा’ समाप्त हुँदैन। बरु त्यसलाई अर्को चरणमा सुरक्षित राखिन्छ।
आफन्त आए भने शव पुनः निकाल्न सकिन्छ
अस्थायी रुपमा गाड्नुको अर्को महत्वपूर्ण पक्ष भविष्यमा आफन्तलाई शव बुझाउन सकिने व्यवस्था हो ।
कुनै परिवारले आफ्नो आफन्त हराएको दाबी गरेमा उपलब्ध दस्तावेज, फोटो, शारीरिक चिन्ह तथा डीएनए परीक्षणका आधारमा पहिचान गर्न सकिन्छ । डीएनए नमुना म्याच भएमा सम्बन्धित शव गाडिएको स्थान पहिचान गरी उत्खनन् गरेर परिवारलाई बुझाउन सकिने व्यवस्था गरिएको छ ।
यसले अहिले गाडिएका शव भविष्यका लागि ‘बन्द अध्याय’ नभएको स्पष्ट गर्छ । परिवारले आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्तिम संस्कार गर्न चाहेमा पहिचान पुष्टि भएपछि शव निकालेर परिवारलाई दिन सकिनेछ ।
टुक्रिएका शवको पनि पहिचान सुरक्षित गरिने
बाढीको तीव्र बहावका कारण कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएका छन् । कतिपय स्थानमा मानव शरीरका छुट्टाछुट्टै अंगसमेत भेटिएको अवस्था छ ।
यस्ता अवस्थामा पनि ती अवशेषलाई बेवारिसे रूपमा छाड्ने वा अन्य शवसँग मिसाउने होइन । उपलब्ध प्रमाणअनुसार तिनको पनि डीएनए नमुना र पहिचान नम्बर कायम गरेर अभिलेख राखिने व्यवस्था गरिएको छ ।
यो प्रक्रिया भविष्यमा शरीरका छुट्टाछुट्टै अवशेष एउटै व्यक्तिका हुन् कि होइनन् भन्ने पहिचान गर्नसमेत महत्वपूर्ण हुन सक्छ।
माटोमुनि गाड्दा शव कुहिँदैन भन्ने होइन
शव जमिनमुनि राख्दैमा कुहिने प्रक्रिया पूर्ण रूपमा रोकिने होइन । शव प्राकृतिक रूपमा विस्तारै विघटन हुन्छ । तर खुला ठाउँमा राखिएको शवको तुलनामा माटोमुनि राख्दा विघटनको गति केही कम हुन सक्ने फरेन्सिक विज्ञहरूको भनाइ छ ।
त्यसैले यसको उद्देश्य शवलाई सधैँका लागि सुरक्षित राख्नु होइन । तत्कालीन अवस्थामा खुला ठाउँमा कुहिन नदिई दुर्गन्ध र वातावरणीय जोखिम कम गर्नु तथा भविष्यमा पहिचान र उत्खनन् गर्न सकिने अवस्थामा राख्नु हो ।
सुरक्षित ठाउँ छनोट पनि उत्तिकै महत्वपूर्ण
अस्थायी गाडाइका लागि जुनसुकै ठाउँ रोज्न मिल्दैन । बस्ती, पानीका स्रोत, वातावरणीय अवस्था तथा भविष्यमा शव पुनः उत्खनन् गर्नुपर्ने सम्भावनालाई ध्यानमा राखेर स्थान छनोट गर्नुपर्छ ।
चितवनमा शव व्यवस्थापनका लागि देवघाट आसपासको स्थानमा खाडल खन्ने काम सुरु गरिएको विवरण छ । गाड्ने स्थान भूमिगत पानीका स्रोतबाट सुरक्षित दूरीमा हुनुपर्ने र भविष्यमा सहजै पहिचान तथा उत्खनन् गर्न सकिने हुनुपर्ने प्राविधिक मान्यता छ ।
नेपालका लागि नयाँ अभ्यास होइन
विपद्का बेला पहिचान नखुलेका शवलाई अस्थायी रूपमा जमिनमुनि राख्ने अभ्यास नेपालमा यसअघि पनि भएको छ ।
२०७२ सालको भूकम्पपछि त्रिवि शिक्षण अस्पताल परिसरमा मात्रै ३२ वटा शव अस्थायी रूपमा गाडिएको थियो । त्यसमध्ये केही शव वर्षौँपछि आफन्तले खोज्दै आएपछि डीएनए परीक्षणबाट पहिचान भएका थिए ।
यसबाट अहिलेको अस्थायी गाडाइको एउटा महत्वपूर्ण पाठ देखिन्छ—विपद्का बेला पहिचान हुन नसकेका शवको व्यवस्थापन गर्दा तत्कालीन संकट समाधानसँगै भविष्यको सम्भावनालाई पनि सुरक्षित राख्नुपर्छ।
१२ वर्षसम्म अभिलेख र अवशेषको महत्व
पहिचान नखुलेका तथा बेवारिसे शव र तिनबाट बाँकी रहने अवशेष लामो समयसम्म सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था रहेको फरेन्सिक विज्ञले बताएका छन् । उनका अनुसार बेवारिसे शव वा त्यसबाट बाँकी रहने हड्डी तथा अन्य अवशेष १२ वर्षसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ ।
यसको अर्थ विपद्का केही दिन वा केही महिनाभित्र आफन्त नआए भन्दै मृतकको पहिचानको सम्भावना समाप्त हुँदैन । बरु अभिलेख, डीएनए र अन्य प्रमाण सुरक्षित राखेर लामो समयसम्म पहिचानको बाटो खुला राख्नुपर्छ ।
विपद् व्यवस्थापनमा अर्को पाठ
रसुवाको भोटेकोशी बाढीले नेपालका लागि केवल बाढी तथा पहिरोको जोखिम मात्र देखाएको छैन । यसले ठूलो संख्यामा मानवीय क्षति हुँदा शव व्यवस्थापन गर्न आवश्यक पूर्वाधारको अभाव पनि उजागर गरेको छ ।
नेपालमा विपद् पूर्वतयारीको चर्चा गर्दा उद्धार सामग्री, हेलिकोप्टर, डुंगा, औषधि, खाद्यान्न र अस्थायी आवासबारे धेरै कुरा गरिन्छ । तर ठूलो विपद्मा सयौँ शव एकैपटक फेला पर्न सक्छन् भन्ने यथार्थलाई ध्यानमा राखेर पर्याप्त शवगृह, मोबाइल रेफ्रिजेरेटेड कन्टेनर, डीएनए परीक्षण क्षमता, फरेन्सिक जनशक्ति र मृतक पहिचान प्रणालीको पूर्वतयारी पनि आवश्यक देखिन्छ ।









