काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछिको खोजी, उद्धार, उपचार, राहत तथा पुनःस्थापनासम्बन्धी पछिल्लो विवरण सार्वजनिक गरेका छन्। बाढी आएको पाँच दिनपछि आइतबार साँझ सामाजिक सञ्जालमार्फत अपडेट दिँदै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिमका कारण क्षतिको पूर्ण विवरण संकलन गर्न चुनौती भइरहेको बताएका छन्।
प्रधानमन्त्रीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ। उद्धार तथा राहतका लागि आइतबार थप ७२ सहित हालसम्म ३९४ उडान सञ्चालन भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजार ६१८ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित छन्।
विद्युत् आयोजनाका क्षेत्रमा फसेका २७९ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको शाहले बताएका छन्। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी जारी राखेको छ। चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोजी गरे पनि हालसम्म मानिस फेला पार्न नसकेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
त्रिशूली–३ ‘ए’मा ब्लास्टिङमार्फत उद्धार प्रयास
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा उद्धार प्रयास जारी छ। नेपाली सेनाका इन्जिनियरले ब्लास्टिङ अघि बढाइरहेका छन्। घटनास्थलमा सेना, तालिमप्राप्त कुकुरसहितको सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञसहित ९० जनाको संयुक्त टोली परिचालित छ।
टोलीले आइतबार सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाए पनि भित्रबाट कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसपछि ठूला उपकरण प्रयोग, ब्लास्टिङ र प्वाल फराकिलो बनाउने काम एकसाथ अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ मा पनि नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली उद्धारमा परिचालित छ। चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरिरहेको छ।
चिलिमे, लाङटाङ र मैलुङमा पनि उद्धार
रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय उद्धार टोलीले रेकी गरी पम्प र एस्काभेटर प्रयोग गरेर खोजी तथा उद्धार गरिरहेको छ।
लाङटाङ खोला आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको छ। भारतीय टोलीले पनि रेकी गरी पम्प र एस्काभेटरसहित थप उद्धार कार्य अघि बढाएको छ।
मैलुङ खोला आयोजनामा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकीपछि खोजी कार्य सुरु गरेको प्रधानमन्त्रीले बताएका छन्।
२६७ घाइतेको उद्धार
बाढीबाट घाइते भएका २६७ जनालाई उद्धार गरी उपचारका लागि स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा पुर्याइएको छ। तीमध्ये १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंसहित विभिन्न स्थानबाट चिकित्सकको टोली परिचालन गरिएको छ।
राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी
प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको शाहले जानकारी दिएका छन्। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ।
सरकारले राहत तथा सहयोग रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्न ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरेको जनाएको छ।
२६ राहत तथा आश्रय केन्द्र सञ्चालन
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
काठमाडौंमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याइएको छ। त्यहाँबाट थप प्रभावित क्षेत्रमा वितरणको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले बताएका छन्।
अन्तर्राष्ट्रिय सहयोग बढ्दै
प्रधानमन्त्रीका अनुसार विपद्पछि अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता पनि बढिरहेको छ। जस अनुसार एसियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर, अष्ट्रेलिया सरकारबाट १० लाख अमेरिकी डलर, एडीबीबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर, स्विट्जरल्यान्डबाट १० लाख स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको छ ।
भारतबाट चार चरणमा ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले आइतबार २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको तथा थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। चीनबाट पनि ३० वटा बेलीब्रिजका लागि सहयोग अनुरोध गरिएको प्रधानमन्त्रीले बताएका छन्।
७८१ शव फेला
प्रधानमन्त्री शाहका अनुसार बाढीपछि हालसम्म ७८१ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ।
पहिचान भएका शव आफन्तलाई बुझाउने काम भइरहेको छ। पहिचान हुन नसकेका शवका हकमा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार व्यवस्थापन सुरु गरिएको शाहले बताएका छन्। पहिचानका लागि आवश्यक डिएनएलगायत प्रमाण सुरक्षित राखेर मात्रै पहिचान गर्न नसकिने शव व्यवस्थापन भइरहेको उनको भनाइ छ।
सञ्चार र सडक पुनः सञ्चालनको प्रयास
बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बीटीएस टावरको सेवा अवरुद्ध भएको थियो। तीमध्ये हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्। प्रभावित क्षेत्रमा २० वटा स्याटलाइट फोनसमेत पठाइएको छ।
बाढी र पहिरोका कारण अवरुद्ध सडकलाई वैकल्पिक मार्गमार्फत सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तर भोटेकोशीमा पानीको सतह बढ्दा गएको राति पहिरो तथा कृष्णभीर क्षेत्रमा कटान भएपछि वैकल्पिक सडकमा समेत समस्या आएको प्रधानमन्त्रीले बताएका छन्।
प्रधानमन्त्री शाहले विपद्को यो कठिन घडीमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी नागरिकको जीवनरक्षा, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखिएको बताएका छन्। “हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं,” उनले भनेका छन्।









