काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्युयोर्क जाने भएका छन्। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्या र जलवायु न्यायका विषयमा विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्री स्वयं जाने निर्णयमा पुगेका हुन्।
राष्ट्रसङ्घीय महासभाको संशोधित तालिकाअनुसार असोज ८ गते (सेप्टेम्बर २४) दिउँसो प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सम्बोधन लगत्तै असोज ९ गते उनी स्वदेश फर्किनेछन्। यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको थियो। तर, भदौ १० को भोटेकोसी महाविपत्तिपछि प्रधानमन्त्री आफैँ उपस्थित भएर क्षतिपूर्ति र जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने दबाब बढेपछि भ्रमण तालिका परिमार्जन गरिएको हो।
प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि हुन लागेको यो शाहको पहिलो विदेश भ्रमण हो। देश विपद्पछिको उद्धार र राहत व्यवस्थापनको चरणमा रहेकाले भ्रमणलाई सकेसम्म छोटो बनाउन लागिएको छ। जसका कारण महासभालाई सम्बोधन गर्नेबाहेक अन्य द्विपक्षीय साइडलाइन भेटवार्ताहरू मुख्य रूपमा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत अधिकारीहरू सहभागी हुनेछन्।









