३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026

मुस्ताङको जोमसोममा ‘जलवायु परिवर्तन सम्मेलन २०८३’ सुरु हुँदै



जलवायु संकटका असरहरूबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ मुस्ताङको सदरमुकाम जोमसोममा भदौ ३० गतेदेखि ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आयोजना हुँदैछ। घरपझोङ गाउँपालिकाको आयोजनामा दुई दिनसम्म चल्ने उक्त सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंगलबार बिहान ८ बजे गर्ने तय भएको छ। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।

सम्मेलनमा सहभागी हुन देशभरका करिब ५ सय स्थानीय तहका प्रमुख र ३६ वटा जिल्ला समन्वय समितिका सभापतिहरू मुस्ताङ पुगिसकेका छन्। आगामी असोज ८ गते हुने संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने तयारीका कारण प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सम्मेलनमा प्रत्यक्ष सहभागी हुन नसके पनि उनले शुभकामना सन्देश पठाएका छन्। घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनका अनुसार प्रधानमन्त्री शाहले सम्मेलनबाट निकालिएका निष्कर्ष र जलवायु परिवर्तनसम्बन्धी एजेन्डालाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

हरितगृह ग्यास उत्सर्जन र बढ्दो तापक्रमका कारण नेपालका हिमाली, पहाडी तथा तराईका क्षेत्रमा परेको असर र अनुकूलनका उपायहरूबारे सम्मेलनमा गहन बहस हुनेछ। कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ), आइयूसीएन, त्रिभुवन विश्वविद्यालयका वातावरण तथा जल मौसम विज्ञान विभाग, र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञ टोलीहरूको सहभागिता रहनेछ। मुस्ताङका अन्य चार पालिकाको सहयोगमा आयोजित सम्मेलनको पहिलो दिन समूहगत छलफल, ५० भन्दा बढी स्थानीय कृषि तथा पशुपालनजन्य सामग्रीका प्रदर्शनी कक्ष र जलवायु परिवर्तनका असर सम्बन्धी फोटो प्रदर्शनी गरिनेछ।

गत भदौ १० गते हिमताल फुटेर रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीको सन्दर्भ जोड्दै अध्यक्ष लालचनले हिमाली क्षेत्रमा बाढी-पहिरोको जोखिम उच्च रहेकाले विश्वसमुदायको ध्यानाकर्षण गराउन सम्मेलन आयोजना गरिएको बताए। सम्मेलनको दोस्रो दिन भदौ ३१ गते विज्ञ तथा स्थानीय तहका अवधारणा पत्रहरूलाई समेटेर ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को साझा घोषणापत्र जारी गर्दै बुधबार दिउँसो १ बजे कार्यक्रम समापन गरिनेछ

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  १० : ४९ बजे