१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेको लगातार ५ वटा विदेश भ्रमण तय, असोज १ गते भारतबाट यात्रा सुरु हुने



अर्थमन्त्री स्वर्णिम वाग्लेले असोज १ गतेदेखि लगातार विभिन्न ५ वटा देशको विदेश भ्रमण गर्ने भएका छन्। २०८२ चैत १३ गते अर्थमन्त्रीको कार्यभार सम्हालेयता उनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा असोज १ देखि ३ गतेसम्म हुने भारत भ्रमणका क्रममा उनले भारतीय अर्थमन्त्री सीतारमण र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै ३ वटा विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतबाट फर्किएलगत्तै वाग्ले असोज १२ र १३ गते (सेप्टेम्बर २८ र २९) कतारको दोहामा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको ११औँ वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन् ।

दोहा भ्रमण पूरा गरी उनी अक्टोबरको पहिलो साता अमेरिका जाने तयारीमा छन् । अमेरिका भ्रमणका क्रममा मुख्यगरी तीन वटा एजेन्डा रहनेछन् ।
अमेरिकी सरकारद्वारा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप गर्ने विषयमा अमेरिकी अर्थमन्त्रीसँग छलफल गर्ने, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे-लिस्टबाट नेपाललाई बाहिर ल्याउन र नेपालको अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता कायम राख्न अमेरिकी उच्च अधिकारीहरूसँग कूटनीतिक पहल गर्ने र नेपालमा अमेरिकी सहायता वृद्धि तथा लगानी विस्तारका सम्भावनावारे छलफल गर्ने छन् ।

अमेरिकाबाट फर्किएपछि अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी हुन असोज २६ देखि कात्तिक १ गतेसम्म (अक्टोबर १२ देखि १८) थाइल्यान्डको बैंकक जानेछन् । त्यसलगत्तै अक्टोबर महिनाभित्रै उनको स्विट्जरल्यान्ड भ्रमणको समेत तयारी भइरहेको छ ।

अर्थमन्त्रीको सचिवालयका अनुसार यी भ्रमणहरू पूर्वाधार विकासका लागि वैदेशिक लगानी जुटाउन र भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न फलदायी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ११ : १० बजे