१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १६ गते सुरु हुँदै, देउवा पक्षको पनि क्रियाशील सदस्यता टुंगो लाग्यो



नेपाली कांग्रेसको १५औं महाधिवेशनको संघारमा राजनीतिक सरगर्मी बढेको छ। असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुने उद्घाटन समारोहका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा पठाइएको छ।

कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाको नेतृत्वमा रहेको टोलीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उद्घाटन समारोहको निम्तो दिएको हो। सहमहामन्त्री राणाले लोकतान्त्रिक उत्सवका रूपमा हुन लागेको यस महाधिवेशनमा शीर्ष नेताहरूको उपस्थितिले राजनीतिक संवाद, सहकार्य र आपसी सद्भावलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।

विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले असोज १६ गते महाधिवेशनको औपचारिक उद्घाटनको तयारी अघि बढाएको छ। अर्कोतर्फ पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने महाधिवेशनका लागि छुट्टै कार्यक्रम र तयारी अगाडि बढाएको छ।

देउवा पक्षले डा. शशांक कोइरालाको नेतृत्वमा गठन गरेको महाधिवेशन तयारी समितिले पनि १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंगो लगाएको छ। काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यको अन्तिम विवरण हस्तान्तरण गरियो।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार यसपटक ५ लाख ७३ हजार २६९ पुरानो नवीकरण र २ लाख १० हजार ५६७ नयाँ गरी कुल ७ लाख ८३ हजार ८३६ क्रियाशील सदस्यताको विवरण दर्ता गरिएको छ। विगतका महाधिवेशनमा देखिने सदस्यता विवादलाई सच्याउँदै यसपटक पारदर्शी ढंगले विवरण बुझाइएको उनले दाबी गरे।

यसपटक कांग्रेसले साङ्गठनिक सुदृढीकरण र महाधिवेशन प्रक्रियालाई प्रविधिमैत्री बनाउन डिजिटल माध्यमलाई प्राथमिकता दिएको छ। क्रियाशील सदस्यता वितरण, नवीकरण र नयाँ आवेदनका लागि उच्च साइबर सुरक्षासहितको नयाँ वेबसाइट समेत सार्वजनिक गरिएको छ।

निर्वाचन समितिका संयोजक एकराज पोखरेलले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न समिति प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। जसअनुसार असोज १५ गतेदेखि देशभरका वडा स्तरमा अधिवेशन सुरु हुनेछ र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी चुस्त बनाइएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १२ : १८ बजे