काठमाडौँ — तीन दिनको लगातारको झरी र प्राकृतिक विपत्तिका कारण उत्तरी छिमेकी मुलुक चीनसँगको स्थलगत व्यापार पूर्ण रूपमा ठप्प बनेको छ। दसैँ आउन दुई साता मात्र बाँकी रहँदा चीनसँग जोडिएका प्रमुख तीनवटै व्यापारिक नाका एकपछि अर्को गर्दै बन्द भएपछि दुई देशबीचको स्थलमार्गबाट हुने आपूर्ति शृंखला टुटेको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले चीनबाट ७६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ। तर, प्रमुख नाका जोड्ने सडक र भौतिक संरचनामा क्षति पुगेपछि स्थलमार्गबाट हुने ठूलो परिमाणको व्यापारिक कारोबार असम्भव बनेको हो।
पहिरोको जोखिम देखाउँदै चीनले सबैभन्दा पुरानो तातोपानी–खासा नाका यसअघि नै बन्द गरेको थियो भने गत १० भदौमा भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकाको भौतिक संरचना ध्वस्त बनाएको थियो। यी दुई नाका बन्द भएपछि भरपर्दो विकल्प बनेको मुस्ताङको कोरला नाका पनि पछिल्लो बाढीका कारण सडक सम्पर्कबाट विच्छेद भएको छ। कालीगण्डकी नदीको बाढीले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अन्तर्गतका पुलका एप्रोच सडक बगाएपछि बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भई कोरला नाका पुग्ने बाटो बन्द भएको छ।
सडकमै रोकियो अर्बौंको व्यापार
तातोपानी र रसुवागढी बन्द भएपछि कोरला नाकामा व्यापारिक चाप ह्वात्तै बढेको थियो। १० देखि २५ भदौसम्मको १५ दिनमा मात्रै यो नाकाबाट ४ सय ३४ कन्टेनर र ६ सय ४१ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। चालु आर्थिक वर्षको भदौ अन्तिम सातासम्म मुस्ताङ भन्सारले २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरिसकेको थियो। अघिल्लो वर्ष १४ अर्ब ४१ करोड बराबरको आयात र ३ हजारभन्दा बढी विद्युतीय सवारी भित्र्याएको यो नाकाको बाटो काटिएपछि अहिले अर्बौंको व्यापार सडकमै रोकिएको छ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार भन्सार यार्ड र नाका क्षेत्रमा ३ देखि ४ सय ईभी गाडी तथा भरिएका र खाली कन्टेनरहरू थन्किएका छन्। सडक विभागले मर्मतको काम तीव्र पारेकाले बाटो खुल्ने बित्तिकै सामान गन्तव्यतर्फ पठाइने उनले बताए।
सामानको मूल्य ३० प्रतिशतसम्म बढ्ने जोखिम
नाका बन्द हुँदा चीनबाट भित्रिने कपडा, जुत्ताचप्पल, झोला, इलेक्ट्रोनिक्स र विद्युतीय गाडीको ढुवानी रोकिएको छ। आरबी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष परशुराम दाहालका अनुसार दसैँका लागि ल्याइएका सामानमध्ये बढीमा २० देखि ३० प्रतिशत मात्र काठमाडौँ आइपुगेका छन्। डलरको भाउ वृद्धि र लामो बाटोका कारण ढुवानी भाडा बढेकाले अब आउने सामानको मूल्य २५ देखि ३० प्रतिशतसम्म महँगो पर्न सक्ने दाहालले जानकारी दिए। ठूला मालबाहक गाडी नचल्दा केही व्यवसायीले भारतबाट साना गाडीमार्फत सामान ल्याए पनि त्यो महँगो पर्ने गरेको छ। लगातारको वर्षा र सडक अवरोधका कारण बाहिरी जिल्लाका व्यापारी नआउँदा काठमाडौँको होलसेल व्यापारसमेत सुस्त बनेको छ।
सरकारी पूर्वाधार र कूटनीतिक पहलको अभाव
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठले सरकारको फितलो कूटनीतिक पहल र पूर्वाधार अभावका कारण व्यवसायीहरू मारमा परेको बताए। तातोपानीमा सुविधासम्पन्न सुक्खा बन्दरगाह बने पनि चिनियाँ पक्षले आन्तरिक कारण देखाएर नाका पूर्ण सञ्चालन नगरेको र सरकारले ठोस पहल गर्न नसकेको उनको आरोप छ।
त्यस्तै, कोरला नाकामा पनि भन्सार जाँचपासमा ढिलासुस्ती, दक्ष जनशक्तिको कमी र बारम्बार नेटवर्क/सफ्टवेयर डाउन हुने समस्या रहेको श्रेष्ठले बताए। भौगोलिक दूरीका कारण केरुङबाट कोरला हुँदै सामान ल्याउँदा ढुवानी खर्च अत्यधिक बढेकाले बजार असन्तुलित बनेको र दसैँ अघिको व्यापारिक उत्साह मन्द भएको व्यवसायीहरूको गुनासो छ।









