१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

बदलिएको कांग्रेसले मात्र नेपाल बदल्न सक्छ: गगन थापा



नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहास भजाएर नभई वर्तमानका चुनौती र आम नागरिकका प्रश्नहरूको ठोस उत्तर दिएर मात्र पार्टी जीवन्त रहने बताएका छन् ।

काठमाडौँको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले बदलिएको कांग्रेसले मात्र नेपाललाई बदल्ने सामर्थ्य र तागत राख्ने स्पष्ट पारे ।

करिब एक दशकपछि खुलामञ्चमा आयोजित राजनीतिक सभालाई सम्बोधन गर्दै थापाले खुलामञ्चलाई केवल चउर नभई नेपालको राजनीतिक स्मृतिको सार्वजनिक अभिलेखका रूपमा चित्रण गरे । बिपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाजस्ता शीर्ष नेताहरूले यही मञ्चबाट देश र जनताका लागि ऐतिहासिक सन्देश तथा संकल्प लिएको स्मरण गराउँदै उनले १५औँ महाधिवेशन केवल नेतृत्व चयनको औपचारिकतामा मात्र सीमित नरहने बताए ।

थापाले आज मुलुकलाई केवल एउटा मैदान नभई हरेक क्षेत्रमा खुला संवादको ‘खुलामञ्च’ आवश्यक रहेको औँल्याए । संसद, विभिन्न समुदाय, डिजिटल माध्यम र स्वयं पार्टीभित्र पनि प्रश्न गर्न पाउने खुला वातावरण निर्माण हुनुपर्नेमा उनले जोड दिए ।

इतिहासले शक्ति नभई शिक्षा दिने उल्लेख गर्दै सभापति थापाले भने, “२००७, २०४६, २०६२/६३ र २०७० सालका राजनीतिक क्रान्तिहरूमा कांग्रेसले तत्कालीन मुख्य प्रश्नहरूको उत्तर दिएकाले नै पार्टी टिकेको हो । अब इतिहास भट्याएर मात्रै शक्ति मिल्दैन, आजका १८ वर्षका युवा, विदेशमा रहेका श्रमिक, किसान, दलित र साना उद्यमीका प्रश्नहरूको उत्तर कांग्रेसले दिन सक्नुपर्छ ।”

नागरिकमा राजनीतिप्रति छाएको वितृष्णा (एन्टी-पोलिटिक्स) र अति-राजनीतिकरण (हाइपर-पोलिटिक्स) को विश्लेषण गर्दै थापाले विगतमा दलहरू सत्ता र कुर्सीको खेलमा अलमलिँदा जनताका जायज आकांक्षाहरू पूरा हुन नसकेको स्वीकार गरे । उनले सिद्धान्तसँग सम्झौता गरेर चुनाव जित्नुभन्दा सिद्धान्तमा अडिग रहेर ५ वटा चुनाव हार्न तयार हुनुपर्ने तर आफ्नो मूल्य र मान्यता छाड्न नहुने संकल्प गरे ।

देशमा व्याप्त बेरोजगारी, गाउँ रित्तिने समस्या, अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव र आर्थिक मन्दीजस्ता जटिल चुनौतीहरू सम्बोधन गर्न सबै दलहरूबीच सहकार्य हुनुपर्ने उनको भनाइ थियो । लोकतन्त्र र विविधताको रक्षा गर्दै नागरिकलाई ‘डेलिभरी’ (प्रतिफल) र ‘डिग्निटी’ (सम्मान) दिन कांग्रेसले सेतु (पुल) को भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले जनाए ।

बाढीपहिरोका कारण उत्पन्न राष्ट्रिय विपत्ति र दुःखद परिस्थितिमा महाधिवेशन गर्नुपरेकोमा दुःख व्यक्त गर्दै उनले पार्टीका साथीहरूलाई वडा-वडामा पुगेर जनताको सुख-दुःखमा एकाकार हुन निर्देशन दिए । “हाम्रो शैली, भाषा, कर्म र सोच्ने तरिका बदलिनुपर्छ । यो महाधिवेशन एउटा नवीकरण र रूपान्तरणको सुरुआत हो,” उनले भने ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  १० : ५९ बजे