आरटीपी, नर्थ क्यारोलाइना, अमेरिका । अमेरिकाको नर्थ क्यारोलाइनास्थित रिसर्च ट्रायंगल पार्क (आरटीपी) क्षेत्रमा सक्रिय हिमालयन फुटबल क्लब को दोस्रो वार्षिकोत्सव अक्टोबर ३१ मा भव्य रूपमा सम्पन्न भएको छ । लेक ह्विलर पार्कमा आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवा, फुटबल खेलाडी, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी, प्रायोजक तथा स्थानीय नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा नर्थ क्यारोलाइना नेपाली कम्युनिटीका कोषाध्यक्ष अभिषेक पोखरेल र आरटीपी दशैं कपका संस्थापक विकास सापकोटाले संयुक्त रूपमा हिमालयन फुटबल क्लबको दोस्रो वार्षिकोत्सव समारोहको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रमका अवसरमा क्लबलाई सहयोग पुर्याउँदै आएका विभिन्न व्यवसायी तथा प्रायोजकहरूलाई आयोजकका तर्फबाट सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा रेग्मी होम्सका पुष्पल रेग्मी र पेशल रेग्मी, हिमालयन अटोका बिबेक लामा, युनाइटेड रियल इस्टेटका जीतमान बस्नेत, नाभ रियल्टीका सन्तोष खटिवडा तथा भीआरजी रियल इस्टेटका नवराज सुवेदी रहनुभएको थियो। क्लबको गतिविधि र सामुदायिक अभियानमा सहयोग पुर्याउने प्रायोजक तथा व्यवसायीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
नर्थ क्यारोलाइनामा फुटबल खेलको प्रवर्द्धन गर्नुका साथै नेपाली समुदायबीच आपसी भाइचारा, एकता र सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले हिमालयन फुटबल क्लबको स्थापना गरिएको हो। क्लबका अध्यक्ष भूपाल कोइराला रहनुभएको छ भने टंक सेलिङ र निकेश बस्नेत सञ्चालन समितिका सदस्यका रूपमा आबद्ध छन् ।
कार्यक्रममा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो । आरटीपी दशैं कपका विजेता टोलीका कप्तान सुनील केसी, प्रतियोगिताका उत्कृष्ट खेलाडी भुवनसिंह कार्की तथा ईसीसी कप विजेता टोलीका कप्तान अंकुर अधिकारीलाई आयोजकले सम्मान गरेको थियो । खेलाडीहरूको योगदान र उपलब्धिको कदर गर्दै गरिएको सम्मानले कार्यक्रममा थप उत्साह थपेको थियो ।
त्यसैगरी, फुके एफसी का आङछिरिङ शेर्पा, प्रवीण खनिया, दीप रिसाल र अशोक सुवेदीलगायतको उपस्थिति रहेको कार्यक्रममा आरटीपी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिता थियो। विभिन्न क्षेत्र र पेसामा आबद्ध नेपालीहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण र आत्मीय बनाएको थियो ।
क्लबका अध्यक्ष भूपाल कोइरालाले “एक क्लब, एक परिवार, एक समुदाय भन्ने मूल नाराका साथ अघि बढिरहेको हिमालयन फुटबल क्लबको दोस्रो वार्षिकोत्सवले आरटीपी क्षेत्रमा नेपाली समुदायबीचको एकता, सहकार्य र सामूहिक भावनालाई थप मजबुत बनाएको बताए । उनका अनुसार क्लबको उद्देश्य फुटबल खेलको विकासमा योगदान पुर्याउनु मात्र नभई खेलकुदलाई नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सामाजिक सम्बन्ध विस्तार गर्ने साझा माध्यमका रूपमा स्थापित गर्नु पनि हो ।
क्लबले आगामी दिनमा पनि फुटबल तथा विभिन्न सामुदायिक गतिविधिमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने लक्ष्य लिएको क्लबले खेलकुदको विकाससँगै नेपाली समुदायबीच आपसी भाइचारा, सद्भाव, सहकार्य र सामाजिक सम्बन्ध, सामुदायिक एकता र सहकार्यसँग जोड्दै अघि बढिरहेको हिमालयन फुटबल क्लबले आगामी दिनमा पनि नेपाली समुदायलाई एकताबद्ध गर्ने अभियानलाई निरन्तरता दिने जनाईएको छ ।


















