१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

अमेरिकाको फ्लोरिडामा निजी जेट विमान दुर्घटना, ९ जनाको मृत्यु



अमेरिकाको टेक्सासबाट बहामासतर्फ उडेको एक निजी जेट विमान फ्लोरिडाको पाम बीच काउन्टीमा भीषण दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै ९ जनाको मृत्यु भएको छ। ‘लियरजेट ६०’ मोडलको उक्त विमान तीव्र गतिमा आकाशबाट खसेर राजमार्ग नजिकै बज्रिँदा आगोको गोलामा परिणत भएको थियो ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसका अनुसार दुर्घटना यति भीषण थियो कि विमान मिसाइल खसेझैँ सिधै जमिनमा बज्रिएको थियो। जमिनमा ठूलो खाल्डो परेको र सडकभरि विमानका अवशेषहरू छरिएका छन्। जमिनमा भने कसैलाई चोटपटक नलागेको अधिकारीहरूले जनाएका छन्। मृतकहरूमध्ये एक जना २० वर्षीया पाइलट नथलिया फिल्गुएरासको पहिचान उनकी आमाले गरेकी छन् भने अन्यको पहिचान खुल्न बाँकी छ।

‘हामी जमिनमा बज्रिँदै छौँ!’ – पाइलटको अन्तिम संवाद

दुर्घटनाअघि हवाई यातायात नियन्त्रक (एटीसी) सँगको सञ्चारमा पाइलटले विमानमा हिउँ (आइस) जमिरहेको र तीव्र हावाका कारण जहाज अनियन्त्रित भइरहेको जानकारी दिएकी थिइन्। त्यसको केही छिनमै पाइलटले अत्तालिएको आवाजमा “मेडे, मेडे!” भन्दै मद्दत मागेकी थिइन्।

फ्लाइट ट्रयाकिङ डेटाका अनुसार विमान दुर्घटना हुनुअघि प्रतिमिनेट २७ हजार फिटको दरले तल खसेको थियो। पाइलटले एटीसीलाई भनेकी थिइन्, “हामी प्रतिमिनेट २० हजार फिटको दरले तल खसिरहेका छौँ, हामी जमिनमा बज्रिन लागेका छौँ।” र अन्तिम संवादमा उनले भनेकी थिइन्, “हामीसँग समय बाँकी रहेन।”

हिउँ जमिन (आईसिङ) दुर्घटनाको प्रमुख कारण हुनसक्ने

राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको छानबिन सुरु गरेको छ। उडानका क्रममा बाहिरको तापमान माइनस ४७ डिग्री सेल्सियस थियो। विशेषज्ञहरूका अनुसार अत्यधिक चिसो र बादलका कारण विमानको पङ्खा तथा बाहिरी भागमा हिउँ जम्दा (Icing) विमानको भार बढ्ने, उडान क्षमता घट्ने र जहाज पूर्ण रूपमा अनियन्त्रित हुने गर्दछ। दुर्घटना हुनुअघि विमान एउटा शक्तिशाली आँधीको नजिकबाट गुज्रिएको थियो।

जमिनमा ठूलो क्षति, ६ सय मानिस प्रभावित

विमान खसेको क्षेत्र वेस्ट पाम बीच एयरपोर्टबाट केही माइलको दूरीमा पर्छ। दुर्घटनाका कारण स्थानीय सडक पूर्ण रूपमा ध्वस्त भएको छ भने विद्युत आपूर्ति बन्द भएको छ। दुर्घटनास्थल नजिकै रहेको मोबाइल होम पार्कको बाटो छेकिएका कारण करिब ६ सय स्थानीय बासिन्दा प्रभावित भएका छन्। उनीहरूलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ।

यो दुर्घटना अमेरिकी इतिहासमा लियरजेट ६० मोडलको विमान संलग्न भएको अहिलेसम्मकै सबैभन्दा घातक दुर्घटना हो। सन् २०२६ मा अमेरिकामा भएको यो दोस्रो ठूलो विमान दुर्घटना पनि हो। अधिकारीहरूका अनुसार विमानको ‘ब्ल्याक बक्स’ (ब्ल्याक बक्स र भ्वाइस रेकर्डर) अत्यधिक तापक्रम र प्रभावका कारण नष्ट भएको हुनसक्ने आशंका गरिएको छ। NTSB ले ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, सोमबार  १० : ४७ बजे