२४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026

पृथ्वी राजमार्गको गलौंदी खण्डमा चिरा परेपछि यातायात अबरुद्ध



त्रिशूली नदीको कटानका कारण धादिङको गजुरी गाउँपालिका-५ गलौंदीमा पृथ्वी राजमार्गको करिब ७० मिटर लम्बाइ र चार मिटर चौडाइ सडक भासिएपछि काठमाडौँ जोड्ने मुख्य राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

शनिबार बिहानैदेखि १५ वटा उपकरण र ठूलो सङ्ख्यामा जनशक्ति परिचालन गरी मर्मत कार्य जारी राखिए पनि बाटो कहिले खुल्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर राजीव मानन्धरका अनुसार सडक खुलाउन पाँच वटा एक्जाभेटर, दुई वटा लोडर, दुई वटा जेसीभी र ६ वटा टिपर प्रयोग गरी ‘ब्याक कटिङ’ र भित्तो काट्ने काम भइरहेको छ ।

सडकको भित्तासम्मै चिरा परेर भासिएकाले माथिल्लो भाग जोगाउँदै काम गर्नुपर्ने जटिलताका कारण आजै एकतर्फी (वान वे) सवारी सञ्चालनमा ल्याउन कठिन देखिएको छ। प्राविधिक टोलीले रातिसम्म बत्ती बालेर भए पनि मर्मत जारी राख्ने योजना बनाएको छ ।

दशैं नजिकिँदै गर्दा प्रमुख राजमार्ग अवरुद्ध हुँदा घर फर्किने यात्रु, सार्वजनिक यातायातका साधन तथा दैनिक उपभोग्य सामग्री बोकेका मालवाहक सवारीसाधनहरू बाटोमै रोकिँदा यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन् । हाल वैकल्पिक रूपमा हेटौँडाबाट त्रिभुवन राजपथ तथा भीमफेदी-सिस्नेरी सडक खण्ड हुँदै सवारीसाधन सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ११ : ४० बजे