२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

चाडपर्व लक्षित विशेष सुरक्षा योजना : देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन



काठमाडौँ । नेपाल प्रहरीले आसन्न दशैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वहरूलाई सुरक्षित र अनुशासित वातावरणमा सम्पन्न गराउन देशभर ५० हजारभन्दा बढी जनशक्ति परिचालन गरी ‘चाडपर्व विशेष सुरक्षा योजना’ लागू गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार चाडपर्वका बेला नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षाका साथै महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको अधिकारको सम्मान र सुरक्षाका लागि यो योजना कार्यान्वयनमा ल्याइएको हो।

कुन क्षेत्रमा कति जनशक्ति?

विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित सावै प्रदेशबाट कुल ५० हजार ४५८ जना प्रहरी जनशक्ति परिचालन हुनेछन्:

  • काठमाडौँ उपत्यका : ७,६६८
  • कोशी प्रदेश : ८,१३३
  • मधेश प्रदेश : ७,२३०
  • बागमती प्रदेश : ४,४९९
  • गण्डकी प्रदेश : ५,१८८
  • लुम्बिनी प्रदेश : ७,९२१
  • कर्णाली प्रदेश : ५,३१४
  • सुदूरपश्चिम प्रदेश : ४,५०५

आपराधिक गतिविधि र सीमानाकामा कडा निगरानी

चाडपर्वका बेला हुन सक्ने चोरी, डकैती, ठगी, जुवातास, अवाञ्छित बैंकिङ तथा अनलाइन ठगी, नक्कली नोट र अवैध हुण्डी कारोबार नियन्त्रणका लागि विशेष रणनीति बनाइएको छ। त्यसैगरी खुला सीमानाकाबाट हुन सक्ने हातहतियार, पटका, विष्फोटक पदार्थ तथा लागूऔषधको अवैध ओसारपसार र तस्करी रोक्न सीमा क्षेत्रका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी ७०५ जना प्रहरी खटाइएको छ।

यात्रु सुरक्षा र ४०८ स्थानमा ‘यात्रु सहायता कक्ष’

चाडपर्वको समयमा सार्वजनिक यातायातमा बढ्ने यात्रुको चापलाई ध्यानमा राख्दै देशभर १,१६५ जनशक्तिमार्फत ४०८ वटा ‘यात्रु सहायता कक्ष’ (हेल्प डेस्क) सञ्चालनमा ल्याइएको छ। सहायता कक्षले हराएका सामान वा व्यक्तिको समन्वय गर्ने, गुनासो सुनुवाइ गर्ने तथा यात्रुलाई यात्रासम्बन्धी आवश्यक सहयोग पुर्‍याउनेछ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधनहरूको प्राविधिक अवस्था (मेकानिकल टेस्ट), चालकको अनुमतिपत्र, मादक तथा लागूऔषध सेवन (मापसे/लापसे), सिट क्षमता र ‘ट्राफिक कम्युनिकेसन एप’मार्फत दुई जना चालक भए/नभएको कडा जाँच गरिनेछ।

प्रविधिको प्रयोग र डिजिटल सुरक्षा

यसपटक परम्परागत सुरक्षाका साथै आधुनिक प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ। सीसीसीटीभी क्यामेरा, बडीवर्न क्यामेरा, ड्रोन, तालिमप्राप्त कुकुर तथा सामाजिक सञ्जालको निगरानीमार्फत ‘रियल टाइम’ सूचना संकलन गरी सुरक्षा व्यवस्थापन मिलाइनेछ।

प्रहरीले चाडपर्वका नाममा उपहार, नक्कली अनलाइन सपिङ वा फिसिङमार्फत हुनसक्ने वित्तीय ठगीबाट जोगिन आफ्ना गोप्य बैंकिङ विवरण, ओटीपी, पिन र पासवर्ड कसैलाई नदिन नागरिकमा आग्रह समेत गरेको छ। बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थलहरूमा प्रहरीको टोली चौबीसै घण्टा खटिनेछ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ९ : ४१ बजे