आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत मङ्गलबार सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले दिएको २६४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको ओमान ३९.६ ओभरमा १५० रनमा समेटिएपछि नेपालले सानदार जित हासिल गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको मजबुत योगफल खडा गरेको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले ६१ रनको अर्धशतकीय पारी खेले भने ओपनर अर्जुन कुमालले ५९ बलमा ४० रन जोडे। यस्तै ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन तथा दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए। अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गरेका करण केसीले मात्र १६ बलमा ४ छक्का र १ चौकाको मद्दतले विस्फोटक ४० रन बनाए। बलिङतर्फ ओमानका शाह फैजल, शकिल अहमद र करण सोनावाले समान २-२ विकेट लिएका थिए।
२६४ रनको विजय लक्ष्य पछ्याउँदै मैदान उत्रेको ओमान नेपाली बलरसामु क्रिजमा टिक्न सकेन। ओमानका लागि कप्तान विनायक शुक्लाले ७७ रन, जय ओडेड्राले २५ रन र जतिन्दर सिंहले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपाललाई जित दिलाउन बलिङतर्फ नन्दन यादव र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै समान ३-३ विकेट लिए। यस्तै दीपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले समान १-१ विकेट हात पारे।
यस जितसँगै लिग-२ को अंक तालिकामा नेपाल ३४ खेलबाट १३ जित र १९ हारका साथ २८ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ। पराजित ओमान भने ३० खेलबाट ३३ अंकका साथ चौथो स्थानमा यथावत् छ।








