सरकारले हिमाली क्षेत्र समेट्दै सुदूरपश्चिमदेखि पूर्वसम्म जोड्ने गरी ‘पूर्व–पश्चिम हिमाली पर्यटक राजमार्ग’ निर्माणको महत्त्वाकांक्षी योजना अगाडि सारेको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्सालले अघि सारेको यो नयाँ योजनाअनुसार पश्चिमको बाजुरास्थित बडीमालिकादेखि पूर्वको ताप्लेजुङस्थित पाथीभरालाई सडक सञ्जालमार्फत जोडिने छ।
प्रस्तावित राजमार्गको प्रारम्भिक अवधारणा अनुसार यसको कुल लम्बाइ करिब १ हजार ४०० देखि १ हजार ५०० किलोमिटरसम्म हुने अनुमान गरिएको छ। राष्ट्रिय राजमार्गकै प्रकृतिमा दुई लेनको बनाउने सोच राखिएको यस सडकको सम्भाव्यता अध्ययनको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतकै सरकारी निकाय नेपाल पूर्वाधार निर्माण कम्पनीले पाएको छ। गत असोज २६ गते सडक विभाग र पूर्वाधार निर्माण कम्पनीबीच ४० लाख रुपैयाँ लागतमा पहिलो चरणको सम्भाव्यता अध्ययन गर्ने गरी सम्झौता भइसकेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभाकर थापाका अनुसार पहिलो चरणमा दुईवटा सडक खण्डको सम्भाव्यता अध्ययन गरिनेछ। जसमा अपि–नाम्पा तथा साइपाल–बडिमालिका खण्ड (करिब १०५ किमी) र नम्पा–पाथीभरा खण्ड (करिब ४५ किमी) गरी कुल १५० किलोमिटर क्षेत्र समेटिनेछ। ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस अध्ययनका क्रममा प्राविधिक उपयुक्तता, आर्थिक लागत, वित्तीय सम्भाव्यता, वातावरणीय प्रभाव र स्थानीय बस्तीमा पुग्ने लाभका आधारमा सडकको अन्तिम मार्ग र डिजाइन तय गरिनेछ।
हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य राखिएको यस राजमार्गले स्थानीय अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ। सडक पहुँच विस्तार भएसँगै होटल, होमस्टे, यातायात तथा अन्य व्यवसायको विकास भई स्थानीय युवाका लागि रोजगारी सिर्जना हुने र बसाइँसराइ कम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। साथै, हिमाली क्षेत्रका कृषि उत्पादन, जडीबुटी तथा हस्तकलाका सामग्रीलाई सहज रूपमा बजारसम्म पुर्याउन सडकले मद्दत पुर्याउनेछ।
पहिलो चरणको अध्ययनपश्चात विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेपछि मात्रै राजमार्गको अन्तिम लम्बाइ, समेटिने जिल्ला र लगानीको स्रोतबारे टुंगो लाग्नेछ। लगानी आन्तरिक स्रोतबाट गर्ने वा वैदेशिक दातृ निकायसँग सहकार्य गर्ने भन्ने विषयमा भने सरकारले विस्तृत अध्ययनपछि मात्रै मोडेल तय गर्ने भएको छ।








